Banner news

विद्यालयमै नर्स र प्याडको सुविधाः महिनावारीले रोकिँदैन छात्राहरूको पढाई

विद्यालयमै नर्स र प्याडको सुविधाः महिनावारीले रोकिँदैन छात्राहरूको पढाई


सिर्जना परियार

बिर्तामोड । बिर्तामोडका सामुदायिक विद्यालयमा सेनिटरी प्याडको व्यवस्थापनसँगै छात्राहरूलाई महिनावारी व्यवस्थापनमा सहज हुन थालेको छ । विद्यालय नर्सको उपस्थितिले छात्राहरुलाई झनै सजिलो भइरहेको छ ।
केही वर्षअघिसम्म महिनावारीलाई लुकाउनुपर्ने र विद्यालयमा प्याड नपाउँदा घर फर्किनुपर्ने बाध्यता हटेर गएको छात्राहरूको धारणा छ ।

विद्यालयमा खानेपानी, शौचालय तथा सेनिटरी प्याड भेन्डिङ मेसिनको व्यवस्थासँगै गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयले विद्यार्थीको प्राथमिक उपचारको लागि एक जना नर्सको व्यवस्था गरेको छ । दुर्गा माविमा कार्यरत विद्यालय नर्स तृष्णा सुन्दासका अनुसार विद्यार्थीलाई पेट दुख्ने, टाउको दुख्ने, सामान्य चोटपटक लाग्ने लगायतका अवस्थामा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइने गरिएको छ । छात्राहरूलाई महिनावारीका समयमा सेनिटरी प्याडको अभाव नहोस् भनेर नगरपालिकाबाट प्राप्त प्याड वितरण हुँदै आएको उनको भनाई छ । एक छात्रालाई महिनामा दुई प्याकेट प्याड उपलब्ध गराइने र आवश्यक परे थप प्याडसमेत दिने व्यवस्था गरिएको छ । छात्राहरूमा रक्तअल्पता नहोस् र आगामी दिनमा महिनावारी सहज होस् भन्ने उद्देश्यले १० देखि १९ वर्ष उमेर समूहका छात्रालाई १३ सातासम्म हप्तामा एकपटक नियमित आइरन चक्की समेत वितरण भइरहेको नर्स सुन्दासले जानकारी दिइन् । विद्यालयमा रहेको सेनिटरी प्याड भेन्डिङ मेसिनमा अहिले प्राविधिक समस्या रहेकाले हाल मर्मतको क्रममा रहेको जनाइएको छ ।

महिनावारी व्यवस्थापनलाई सहज बनाउन विद्यालयले छात्रा र छात्रका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरेको छ । महिनावारीका समयमा प्रयोग गर्न सकिने छात्राको छुट्टै शौचालयमा प्याड व्यवस्थापनका लागि डस्टबिनसमेत राखिएको छ । खानेपानीतर्फ विद्यालयमा एउटा प्रत्यक्ष धारा र तीन–चार वटा कल रहेको विद्यालयले जनाएको छ ।

महिनावारीले रोकेन विद्यालय
दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा आशिका पौडेलका लागि विद्यालयको वातावरण पहिलेको तुलनामा सहज बनेको अनुभव छ । उनले महिनावारी भएकै कारण विद्यालयमा अनुपस्थित हुनुपर्ने अवस्था नरहेको बताउँछिन् । आशिकाका अनुसार विद्यालयमा महिनावारी हुँदा सेनिटरी प्याडको अभाव महसुस गर्नुपरेको छैन । महिनावारीको समयमा सहजताका लागि छात्राका लागि छुट्टै शौचालय र त्यहाँ प्याड व्यवस्थापनका लागि डस्टबिन राखिएको बताइन् ।

सोही विद्यालयको कक्षा १० मा अध्ययनरत १७ वर्षीय छात्र शिखर प्रसाईले खानेपानी तथा सरसफाई पहिलेभन्दा धेरै सुधार भएको बताए । सानैदेखि दुर्गा माविमा अध्ययन गर्दै आएका उनले विद्यालय छुट्टी भएपछि नियमित रूपमा शौचालय सफा गरिने र शुद्ध पिउने पानी पर्याप्त रुपमा उपलब्ध भइरहेको प्रतिक्रिया दिए ।

यस्तै, महेन्द्ररत्न माध्यमिक विद्यालयले १९ सय विद्यार्थीको स्वास्थ्य उपचारका लागि विद्यालय नर्स समीक्षा चुडाललाई जिम्मेवारी दिएको छ । उनी सात वर्षदेखि महेन्द्ररत्नमा कार्यरत छिन् । विद्यालयमा महिनावारी व्यवस्थापन सुरु भएपछि छात्राहरूको महिनावारीसम्बन्धी व्यवहारमा परिवर्तन आएको उनी बताउछिन् ।

नर्स चुडालका अनुसार अहिले महिनावारी पहिलेको जस्तो लुकाउनुपर्ने वा लजाउनुपर्ने विषयका रूपमा हेर्न छोडिएको छ । छात्राहरू महिनावारी भएको बेला निर्धक्क भएर स्वास्थ्य कक्षमा आउने र सेनिटरी प्याड लिने गरेका छन् ।

विद्यालयमा दुई वटा सेनिटरी प्याड भेन्डिङ मेसिन भए पनि विद्यालय नर्समार्फत प्याड वितरण गर्दा प्रभावकारी हुने उनको भनाई छ । मेसिन सञ्चालन गर्न कतिपय छात्रालाई कठिनाइ हुने, कतिपयले आवश्यकताभन्दा बढी प्याड निकाल्ने र कार्ड प्रयोग गर्दा मेसिनमा अड्किएर समस्या आउने भएकाले नर्सकै माध्यमबाट वितरण गर्दा सहज हुने चुडालले बताइन् । बिर्तामोड नगरपालिकाबाट प्राप्त हुँदै आएको सेनिटरी प्याड आगामी पुस –माघदेखि विद्यालय आफैंले वितरण गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

अब मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ
नर्स चुडालले छात्राहरूका लागि महिनावारी व्यवस्थापन पहिलेभन्दा धेरै सहज भइसकेको जानकारी दिइन् । उनका अनुसार अहिले विद्यालयमा विशेषगरी छात्राहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेको छ । विद्यार्थीका समस्या सुन्ने, उनीहरूलाई उत्प्रेरित गर्ने र आवश्यक परे व्यक्तिगत रूपमा परामर्श दिने काम समेत गर्दै आएको बताएकी छन् ।

विद्यालयमा विद्यार्थीलाई पढाईका लागि सुरक्षित र विश्वासिलो वातावरण दिपर्छ, उनले भनिन् – त्यसका लागि अभिभावकले पनि आफ्ना सन्तानप्रति पर्याप्त ध्यान दिनुपर्नेछ । जस्तोसुकै परिस्थिति आए पनि ‘हामी तिम्रो साथमा छौँ’ भन्ने विश्वास विद्यार्थीलाई परिवार र विद्यालयबाट दिए उनीहरूको मानसिक स्वास्थ्य र शैक्षिक विकासमा सकारात्मक प्रभाव पर्न सक्छ ।

विद्यालयमा प्याड उपलब्ध हुनु, सफा र छुट्टै शौचालय हुनु, डस्टबिनको व्यवस्था हुनु र विद्यालय नर्समार्फत तत्काल स्वास्थ्य सेवा पाउनुले छात्राहरू सुरक्षित महसुस गरिरहेका छन् ।

महिनावारीलाई लाज र संकोचको विषयबाट स्वास्थ्य तथा सामान्य जैविक प्रक्रियाका रूपमा बुझ्ने वातावरण बन्दै जानु सकारात्मक परिवर्तन भएको विद्यालय नर्सको बुझाई छ । सामुदायिक विद्यालयमा महिनावारी व्यवस्थापन अझ प्रभावकारी बनाउँदै भेन्डिङ मेसिन सञ्चालन, नियमित खानेपानी, शौचालयको स्वच्छता र विद्यार्थीको मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिनुपर्ने उनीहरुको सूझाव छ ।

शेयर गर्नुहोस :

378
Shares