Banner news

व्यवस्थापन गर्ने ठाउँ अभावले उठेन बिर्तामोडको फोहोर

व्यवस्थापन गर्ने ठाउँ अभावले उठेन बिर्तामोडको फोहोर


बिर्तामोड । एकसातादेखि बिर्तामोडमा नियमित फोहोर संकलन नभएपछि नगरवासीले तत्काल फोहोर उठाइदिन आग्रह गरेका छन् । ल्याण्डफिल्ड साइडमा भएको अवरोधका कारण नियमित फोहोर संकलन गर्न नसकिएको निराकार सरफाई सेवा प्रा.लिले जनाएको छ ।

बिर्तामोड नगरपालिकामा २०७८ सालदेखि फोहोर संकलन गर्दै आएको कम्पनी निराकारले बिर्तामोड वडा नं. ६ देउनिया नदी नजिकै अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । निजी जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको निराकारलाई स्थानीयबासीले अवरोध गरेपछि एकसातादेखि फोहोर संकलन हुन सकिरहेको छैन ।
ल्याण्डफिल्ड साइडको समस्याका कारण बिर्तामोडमा पटक–पटक फोहोर व्यवस्थापनमा कठिनाई भइरहेको छ ।
अस्थायी ल्याण्डफिल्ड साइटमा फोहोर व्यवस्थापन गर्न नदिएपछि संकलित फोहोर व्यवस्थापनमा समेत कठिनाई भइरहेको बुझिएको छ ।

६ वटा ट्याक्टरमा संकलित फोहोर एकसातादेखि व्यवस्थापन गर्न नसकिएको फोहोर व्यवस्थापनका लागि तोकिएका फोलक पर्सन उमेश राउतले जानकारी दिए । उनका अनुसार ट्याक्टरमा भएको फोहोर व्यवस्थापन गरेर नियमित फोहोर उठाउने तयारी गरिएको छ । फोहोर उठाउन नसक्नुको कारण नै ल्याण्डफिल्ड साइडको समस्या हो, राउतले भने – तत्कालका लागि व्यवस्थापन गरेर अब केविएमा फोहोर पठाउने तयारी भइरहेको छ । सोही अनुसार केविएको ट्याक्टरले फोहोर समेत संकलन सुरु गरेको छ ।

केविएको ३ वटा ट्याक्टर र बिर्तामोडको ६ वटा ट्याक्टरले नियमित फोहोर संकलन गर्ने उनको भनाई छ । राउतले अबको २-३ दिनभित्र फोहोर व्यवस्थापनको काम सुरु हुने दावी गरेका छन् ।

केविएमा पूर्ण रुपमा फोहोर लैजान थालेपछि यहाँको समस्या नै समाधान हुने उनको धारणा छ । त्यसका लागि नगरपालिकाले फोहोरको वर्गीकरण गरेर संकलन गर्ने छ । कुहिने र नकुहिने फोहोर अलग–अलग संकलन गर्दै केविएमा पठाउने उनको भनाई छ । कुहिने फोहोरबाट बायो ग्यास उत्पादन गर्ने र नकुहिने फोहोरलाई पनि पुनः वर्गीकरण गर्ने प्रयोगमा ल्याउने राउत बताउँछन् । फोकल पर्सन राउतले नगरबासीहरुलाई फोहोर छुट्टाएर राखिदिन आग्रह समेत गरेको छन् । उनले भने, कुहिने र नकुहिने फोहोर संकलनका लागि गाडि नै अलग–अलग पठाइनेछ । फोहोर छुट्टाएर नदिए संकलनमा समस्या हुनेछ ।

बिर्तामोड नगरपालिकाको समेत लगानी रहेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन लिमिटेड (केविए) को संचरनामा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको थियो । क्षति पुगेपछि फोहोर संकलन गर्ने योजना प्रभावित भएको थियो ।

फोहोरमैला प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले कनकाई नगरपालिका वडा नं. २ मा निर्माण गरिएको प्लान्टमा पालिकाले फोहोर पठाउन समेत सकिरहेका छैनन् । उक्त प्लान्टमा कुहिने र नकुहिने फोहोर छुट्टाएर मात्रै पठाउनुपर्ने बताइएको छ ।

बिर्तामोडको फोहोर व्यवस्थापन दीर्घकालिन रुपमा समाधान गर्न केविएलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने अधिकांशको धारणा छ ।

शेयर गर्नुहोस :

0
Shares