नुवाकोट । बाढीपहिरोले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला नेशनल भोलेन्टियर फोर्स राहत, उद्धार र व्यवस्थापनमा स्वयंसेवकसहित मैदानमा खटिएको छ । पीडितको पीडामा साथ दिन फोर्सका केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको नेतृत्वमा ६० जना स्वयंसेवकको टोली नुवाकोट पुगेको हो ।
फोर्सले १० लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री लिएर नुवाकोट पुगेको जनाएको छ । टोलीले स्थानीय आवश्यकता र अवस्थाको पहिचान गर्दै पीडित परिवारलाई राहत सामग्री वितरण गरिरहेको छ । नुवाकोटको राहत तथा उद्धार कार्यपछि फोर्सको टोली रसुवा जाने तयारीमा रहेको अध्यक्ष श्रेष्ठले बताए ।

‘विपद्का बेला भाषणभन्दा सहयोग चाहिन्छ, आश्वासनभन्दा हात चाहिन्छ’ भन्ने भावनासहित स्वयंसेवकहरू प्रभावित क्षेत्रमा परिचालित भएको श्रेष्ठको भनाइ छ ।
उनका अनुसार टोलीले तत्कालीन राहत वितरणसँगै खाना, बसोबास र सुरक्षाको समस्यामा परेका नागरिकलाई प्रत्यक्ष सहयोग गर्ने योजना बनाएको छ ।
विपद्पछि धेरै परिवारको घरबास प्रभावित भएको, खानेकुराको अभाव देखिएको तथा सुरक्षित रूपमा बस्नसमेत समस्या भइरहेको अवस्थामा फोर्सले निःशुल्क खाना खुवाउने मेस सञ्चालन गर्ने तयारी गरेको छ । पीडितलाई राहत सामग्री दिएर मात्र आफ्नो जिम्मेवारी पूरा नहुने भन्दै प्रभावित नागरिकलाई आवश्यक अवधिसम्म निरन्तर सहयोग गर्ने योजना बनाइएको श्रेष्ठले बताए ।
फोर्सको टोलीले स्थानीय तह, प्रहरी प्रशासन तथा नेपाल सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेको छ । साथै, नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीसँग सहकार्य गर्दै प्रभावित क्षेत्रको वास्तविक आवश्यकता पहिचान गरेर राहत तथा उद्धारलाई प्रभावकारी बनाउने प्रयास भइरहेको जनाइएको छ ।
टोलीमा फोर्सका केन्द्रीय अध्यक्ष श्रेष्ठसँगै एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ पनि सहभागी छन् ।
यो नेशनल भोलेन्टियर फोर्सको दोस्रो चरणको राहत तथा उद्धार अभियान हो । यसअघि पनि फोर्सले विपद्पीडित क्षेत्रमा राहत सामग्रीसहित स्वयंसेवक परिचालन गरी सहयोग गरेको थियो ।
‘महिनौँ होइन, आवश्यक परेसम्म मैदानमै’
फोर्सले यसपटकको टोलीलाई छोटो समयको औपचारिक भ्रमणका रूपमा नभई दीर्घकालीन स्वयंसेवी अभियानका रूपमा अघि बढाउने जनाएको छ । टोली कम्तिमा एक महिनाभन्दा बढी समय प्रभावित क्षेत्रमा रहेर राहत, उद्धार, खाना व्यवस्थापन तथा आवश्यक सहयोगमा खटिने तयारीमा छ ।
विपद्पछि उद्धार र राहत व्यवस्थापनमा राज्यका संयन्त्र सक्रिय भए पनि प्रभावित नागरिकको दैनिकी अझै सहज बन्न नसकेको स्वयंसेवकहरूको अनुभव छ । विशेषगरी खानेकुरा, सुरक्षित बसोबास र आधारभूत आवश्यकताको व्यवस्थापन अहिले पनि चुनौतीपूर्ण रहेको उनीहरू बताउँछन् ।
बाढीपहिरोपछि ज्यान गुमाएका नागरिकको शव व्यवस्थापन र त्यससँग जोडिएका प्रक्रियामा राज्यका निकाय अल्झिरहेका बेला बाँचेकाहरूको तत्कालीन आवश्यकता पनि उत्तिकै गम्भीर रहेको स्वयंसेवकहरूको भनाइ छ ।
‘विपद्मा ज्यान गुमाएकाहरूको सम्मानजनक व्यवस्थापन आवश्यक छ, तर बाँचेका नागरिकको भोक, पीडा र असुरक्षालाई पनि राज्यले उत्तिकै प्राथमिकता दिनुपर्छ,’ स्वयंसेवकहरूको अभियानको मूल भावना छ ।
एमालेको विपद् अभियानसँगै स्वयंसेवक मैदानमा
विपद् व्यवस्थापनका लागि नेकपा (एमाले)ले केन्द्रीय सचिव महेश बस्नेतको कमाण्डमा विपद् व्यवस्थापन समिति गठन गरेको छ । त्यसअन्तर्गत पार्टीका विभिन्न जनवर्गीय संगठनसमेत प्रभावित क्षेत्रमा परिचालित छन् ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका स्वयंसेवकहरू एक सातादेखि प्रभावित क्षेत्रमा खटिएर उद्धार, राहत तथा व्यवस्थापनमा सहयोग गरिरहेका छन् । अब नेशनल भोलेन्टियर फोर्सको थप जनशक्ति र राहत सामग्री परिचालनले अभियानलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ ।
प्राकृतिक विपद्ले घर मात्रै भत्काएको छैन, धेरै परिवारको आधार, आशा र दैनिकीसमेत भत्काएको छ । यस्तो बेला राहतको एउटा पोका, तातो खानाको एउटा गाँस र संकटमा साथ दिने एउटा हात पनि पीडितका लागि ठूलो भरोसा बन्न सक्छ । त्यही भरोसा बोकेर नेशनल भोलेन्टियर फोर्सका स्वयंसेवकहरू अहिले नुवाकोटका प्रभावित बस्तीमा पुगेका छन्– राहत बोकेर मात्रै होइन, पीडितको दुःखमा पनि सँगै उभिन ।








प्रतिक्रिया