मुख्य समाचार

सुरुङमा फसेकाको उद्धारमा सरकार चुक्यो : कांग्रेस

सुरुङमा फसेकाको उद्धारमा सरकार चुक्यो : कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानले विपद्को समयमा उद्धार र राहत अभियानमा सबै खाले राजनीतिक विमति भन्दा माथि उठेर सरकारलाई हरसम्भव सघाउने घोषित नीतिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ।

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले पुनर्स्थापनासम्मको जिम्मेवारीलाई व्यवस्थित ढङ्गले अघि बढाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।

बैठकले उद्वारको कार्यमा अहोरात्र खटेका नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य प्रशासनिक निकायको भूमिकाप्रति बैठकले सह्राहना र सम्मान प्रकट गरेको छ।

सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले प्रकट गरेको अदूरदर्शिता र अकर्मण्यताप्रति बैठकले गम्भीर रोष प्रकट गरेको मुख्यसचिव दुलालले बताए।

सुरुङभित्र कयौँ होनहार इञ्जिनियर र मेहनती श्रमिकहरू फसेको संवेदनशील खबरसँग पुरै संसार सुसूचित भएपनि अहिलेसम्म उद्धार गर्नु नसकेको भन्दै आलोचना गरेको छ।

बैठकपछि दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर अन्तर्राष्ट्रिय सहयोग लिन नचाहने, लिन ढिलाइ गर्ने अनि जलविद्युत आयोजनाका प्रवर्द्धक निर्माण कम्पनीहरूलाई पनि समयमै उद्वारको अनुमति नदिने जे व्यवहार सरकारले गर्‍यो, यो गलत मात्र होइन, अन्ततः अमानवीय प्रमाणित हुँदै छ ।’

बैठकले सुरुङभित्रबाट अविलम्ब उद्धार र उचित निकासका लागि सरकार समक्ष माग गरेको छ।

बैठकले राहत वितरण प्रणालीलाई एकद्वार नभई ‘स्थानीय द्वार प्रणाली’ बनाउन माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । राजनैतिक दलहरू, सङ्घसंस्था, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय छन् । राहत वितरण व्यवस्थित बनाउन तिनै तहका सरकारले पर्याप्त संयोजनका साथ परिपक्व सन्तुलन मिलाउन बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । राहत वितरणमा एकद्वाराको नीतिलाई ‘स्थानीय द्वार प्रणाली’ बनाएर स्थानीय तहलाई प्रमुख जिम्मेवारी सुम्पिन सरकार समक्ष माग गरेको छ ।’

सरकारले स्थापना गरेको कोषमा पार्टीले एकमुष्ट रूपमा बुझाउने एक करोड रुपैयाँका लागि प्रतिष्ठान र अन्तर्गतका उपसमिति सदस्य प्रत्येकले न्यूनतम रकम भदौ १७ गते साँझसम्म जम्मा गर्ने निर्णय पनि गरेको छ।

शेयर गर्नुहोस :

0
Shares