Banner news

झापामा सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षामा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापामा सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षामा ‘गोप्रो क्यामेरा’ प्रयोग


बिर्तामोड । झापामा सीमा सुरक्षा र सूचना संकलनलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलले प्रविधिको प्रयोगलाई तीव्रता दिएको छ ।

झापा स्थिति सशस्त्र प्रहरी बल, नेपाल नं. २ गणले आफ्नो गस्ती तथा निगरानी कार्यका लागि ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । यस प्रविधिको सहयोगले सीमा क्षेत्रमा हुने सूचना संकलन, दैनिक निगरानी र कुनै अप्रिय घटना भएको खण्डमा निष्पक्ष प्रमाण संकलनमा ठूलो मद्दत पुग्ने विश्वास प्रहरीले लिएको छ ।

हाल सो गणसँग रहेका दुई वटा ‘गोप्रो क्यामेरा’ लाई प्रत्यक्ष रूपमा कार्यक्षेत्रमा उतारिएको छ । नेपालकै प्रमुख सीमा नाका काँकडभिट्टामा परिचालित ‘बोर्डर इन्टरएक्सन टिम’ ले यस प्रविधिको प्रयोग सुरु गरेको हो, जुन सम्भवतः नेपालमै पहिलो पटक भएको मानिएको छ । सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य झापाको नयाँ गणपतिका रूपमा सरुवा भई आएपछि यस गणको सक्रियता र परिचालनमा विशेष तीव्रता आएको देखिएको छ ।

सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि चालिएका पछिल्ला कदमहरूले उल्लेख्य सफलता हासिल गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगसँगै सशस्त्र प्रहरीको सतर्कता बढेपछि स्थानीय जनताले समेत सुरक्षा निकायलाई प्रत्यक्ष सहयोग र समर्थन गरिरहेका छन्, जसले सीमा सुरक्षा व्यवस्थापनलाई अझ मजबुत र पारदर्शी बनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares