Banner news

सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र  उपचारको प्रवन्ध मिलाएको छ : प्रम शाह

सरकारले सबै निकायसँगको समन्वयमा खोजी, उद्धार र  उपचारको प्रवन्ध मिलाएको छ : प्रम शाह

प्रम शाह- सम्बोधन काठमाडौँ, १७ भदौः प्रधानमन्त्री वालेन्द्र शाह सिंहदरबारस्थित सङ्घीय संसदमा बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, १७  भदौः  प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीको बाढीपछि तत्कालै नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’ मार्फत सूचना सङ्गठन, समन्वय र अनुगमन सुरु गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रभावित क्षेत्रमा खोजसँगै घाइतेको उद्धार गर्दै काठमाडौँ ल्याएर उपचार सुरु गरिएको बताउनुभयो । “राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्यायौँ । अन्य सबै ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राख्यौँ”, उहाँले भन्नुभयो ।
सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रसलगायतको सहकार्यमा मेडिकल टिमलाई प्रभावित क्षेत्रमा खटाएको जानकारी गराउँदै उहाँले आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लबलगायतसँग समन्वय सुरु गरिएको उल्लेख गर्नुभयो ।
बाढी आएकै दिन यही भदौ १० गते दिउँसो ३ बजे नै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको टोली स्थलमार्ग हुँदै बाढी प्रभावित क्षेत्रतर्फ लागेको र त्यसयता राज्यका सम्पूर्ण संयन्त्रहरूबाट प्रभावित क्षेत्रको स्थितिबारे निरन्तर ब्रिफिङ लिइएको प्रधानमन्त्री वालेन्द्र शाहको भनाइ थियो ।
उहाँले प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन सार्वजनिक आग्रह गरिएको र प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारको मात्रै चिन्ता नभई घरबारबिहिन हुनु भएकाहरूका लागि सुरक्षित व्यवस्थापन गर्नुपर्ने अर्को जिम्मेवारी रहेको बताउनुभयो ।
घटना भएको दिन बुधबार मध्यरातमै आठ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी गराउँदै उहाँले त्यसैदिन रातिसम्ममा प्रभावित क्षेत्रमा मोबाइल फोन प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गराइएको बताउनुभयो ।
घटना भएको भोलिपल्ट बिहानै पूर्वाधार विकास मन्त्रीसहितको टोली लिएर आफैँ पनि स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा पुगी वस्तुस्थिति बुझेर आएको जानकारी गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, “प्रभावित क्षेत्रमा बागमती प्रदेशका मुख्यमन्त्री पनि आफ्नो टोलीसहित हुनुहुन्थ्यो । प्रभावित क्षेत्रबाट फर्केलगत्तै सोही दिन मन्त्रिपरिषद्का सदस्यहरूसँग आपत्कालीन छलफल गरी आवश्यक निर्णय लिइयो । रसुवा र नुवाकोटका लागि एकरएक करोड रूपैयाँ र धादिङका लागि ५० लाख रूपैयाँ निकासा गर्‍यौँ ।”
विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरिएको बताउँदै प्रधानमन्त्री शाहले प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दिएको र खोज, उद्धार, उपचार र राहतलाई थप प्रभावकारी बनाउँदै लगिएको उल्लेख गर्नुभयो ।
त्यस दिन, राति ८ बजेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका गरी १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका र ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिसकिएको प्रधानमन्त्री शाहले जानकारी गराउनुभयो ।
“उडानका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई प्राथमिकता दिइएको थियो । प्रभावित तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन त्यस क्षेत्रका विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापनको तयारी गरियो”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री शाहले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम घर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री पठाएर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको सदनलाई जानकारी गराउनुभयो ।
विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट त्रिशूली पठाएको, काठमाडौँमा भएको थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाएको र सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँले जानकारी गाराउनुभयो ।
“प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहत वितरणसँगै क्षतिग्रस्त भएका सडकलाई प्रभावित क्षेत्रसँग जोड्ने प्रयास पनि सुरु भयो,” उहाँले भन्नुभयो , “घटना भएलगत्तै हामीले प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारेका थियौँ । केहीबेर अघिसम्म ११ हजार ९९३ जना मानिसहरूको उद्धार गरिसकेका छौँ ।” तर, पनि तीन ९१६ जना सम्पर्कविहिन रहेका र उद्धार गरेर विभिन्न अस्पतालहरूमा भर्ना गरिएका २९२ जना घाइतेमध्ये केहीबेरअघिसम्म १८२ जनालाई उपचारपस्चात घर पठाइएको प्रधानमन्त्री शाहले बताउनुभयो । बाँकी घाइतेहरूको पनि स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मी लागिरहेको उहाँको भनाइ थियो ।
काठमाडौँबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकहरूको उपचारका लागि पनि खटाइरहेका बताउँदै प्रधानमन्त्री शाहले उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरूलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “प्रभावित क्षेत्रमा कुनै पनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामका लागि विभिन्न माध्यमहरूबाट सूचना प्रवाह समेत भइरहेको छ ।”
‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ प्रभावकारी रूपमा लागू गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो ।

शेयर गर्नुहोस :

0
Shares