काठमाडौं । नेकपा (एमाले) ले विपद्को सामनाका लागि सात बुँदे प्रस्ताव राखेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले विपद्को समिक्षा आवश्यक रहेको भन्दै सात बुँदे प्रस्ताव राखेका हुन् । प्रधानमन्त्रीले एकांकी शासनशैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने बताए ।
सदनलाई निरन्तर जानकारी गराउनुपर्ने भनाइ बादलको छ ।

यस्तो छ एमालेको प्रस्ताव–
१. राज्यको प्रमुख नेतृत्व, प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसद् प्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसद्लाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
२. राष्ट्रिय सहमतिबाट नै विद्यमान सङ्कटको सामना गर्न सकिन्छ। त्यसैले सरकारले राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरूको सर्वपक्षीय संयन्त्रको निर्माण गर्न पहल गर्नुपर्दछ। सामूहिक र सङ्गठित प्रयासले मात्रै हामीले यो सङ्कटको सामना गर्न सक्दछौँ।
३. सभामुखज्यूले सरकारलाई सचेत तथा सहयोग गर्न विशेष संसदीय समिति गठन गर्नुपर्दछ।
४. अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ।
५. सरकारले युद्धस्तरमा उद्धार तथा राहत कार्यका लागि रक्षामन्त्रीको नेतृत्वमा युनिफाइड स्पेशल टास्क फोर्स गठन गर्नुपर्दछ।
६. सरकारले पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्दछ।
७. जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता तथा आवश्यक रणनीति तय गर्न ‘सगरमाथा संवाद’को दोस्रो संस्करणलाई सरकारद्वारा अगाडि बढाउन आवश्यक छ।








प्रतिक्रिया