Banner news

जातीय विभेद गर्दै मन्दिर निर्माण गर्न नदिएको दलितको आरोप

जातीय विभेद गर्दै मन्दिर निर्माण गर्न नदिएको दलितको आरोप


सुभाष कायस्थ

जनकपुरधाम, १८ भदौ । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले दलित समुदायको कुल देवता रहेको चम्पा देवीमाईको मन्दिर निर्माण गर्न नदिएको आरोप लगाइएको छ ।

पिपरा गाउँपालिका–३ बन्चटोलवाका दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै आएको चम्पा देवी माईको मन्दिर निर्माण पोखरी डिलमा निर्माण गर्न खोज्दा गाउँपालिका अध्यक्ष यादवले आफूहरूमाथि जातीय विभेद गर्दै मन्दिर निर्माण गर्न नदिएको आरोप स्थानीय दलित समुदायका व्यक्तिहरुले आरोप लगाएका हुन् ।

बुधबार एक पत्रकार सम्मेलन आयोजना गरी राजेश दास, गणेश दास तत्मा, रामनाथ पासवान र भोला दासलगायतले गाउँपालिका अध्यक्षले आफूहरुले मन्दिरका लागि राखेको जग्गामा हलुवाई जातिका कुल देवता गणिनाथ भगवान गोविन्दको मन्दिर निर्माण गर्न दिएको र दुईवर्ष १०/१० लाख रुपैयाको दरले बजेट समेत उपलब्ध गराएको छ । तर आफू निर्माण गर्न खोज्दा पोखरी पैनी क्षेत्र भएका कारण कानूनी रुपले निर्माण गर्न नदिने भनी रोक लगाएको भने ।

उनीहरुले पहिला आफ्नो कुलदेवीको मन्दिर निजी जग्गामा रहेको थियो । तर जग्गा बाँडफाँड भएपछि सार्वजनिक जग्गामै मन्दिर निर्माण गर्ने भनी पोखरी डिलमा निर्माण गर्न खोज्दा आफूहरुमाथि जातीय विभेद मात्रै होइन कुटपिट समेत गरिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा सहभागी राजेश दासले पैनी क्षेत्रमा मन्दिर निर्माणको कानून दलितमा मात्रै लागू हुने हो कि हलुवाई जातिलाई पनि प्रश्न गर्दै भने गाउँपालिकाले मात्रै होइन प्रदेश सरकार समेतले गत वर्ष २५ लाख रुपैया विनियोजन गरेको छ ।

यस्तै अर्का सहभागी गणेश दास तत्माले भने यदि दलितको लागि पोखरी पैनी पुरेर मन्दिर निर्माण गर्न कानून विपरित हो भने त्यहाँ बनाइएको हलुवाई जातिको मन्दिर पनि हटाउनुपर्ने नभए कानून विपरित बजेट निकासा गर्ने निकायका सम्बन्धित कर्मचारीमाथि कारवाही हुनुपर्ने माग गरे ।

उनले भने हामीमाथि जातीय विभेद गर्दै गरिएको कुटपिटले एक जनाको नाकको हड्डी भाँचिएको तथा घाइतेको उपचार रिपोर्ट हुँदासमेत प्रहरीले जाहेरी दर्ता गर्न मानेनन् र उल्टै हप्काएर पठाए दिए ।

दलित समुदायमाथि गाउँपालिका अध्यक्ष मात्रै होइन प्रमुख जिल्ला अधिकारी समेत विभेद गरेको आरोप उनीहरुको रहेको छ । उनीहरुले भने गाउँपालिकाले रोक लगाएपछि आफूहरु प्रमुख जिल्ला अधिकारी कहाँ गएपछि उनीपनि हलुवाईहरुको पक्षमा बोल्दै आफूहरुलाई मन्दिर निर्माण गर्न नदिने भनेपछि बाध्य भएर पत्रकार सम्मेलन गरेका हौं ।

भदौ १६ गतेको छलफलमा आफूहरूलाई मन्दिर अन्यत्र बनाउन दबाब दिइएको तथा मुद्दा दर्ता गरे कारबाहीको धम्की दिइएको उनीहरूको आरोप छ । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी जातीय विभेद, कुटपिट र धम्कीमा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न राष्ट्रिय दलित आयोगसमक्ष माग गरेको छ ।

यता गाउँपालिका अध्यक्ष रामजानकी यादवले भने आफू कसैसँग कुनै विभेद गरेको छैन । जहाँसम्म दलितहरुको कुल देवता चम्पा देवी माईको मन्दिरको कुरा हो । त्यहाँ पहिलादेखि नै हलुवाई जातिको गणिनाथको मन्दिर छ, त्योसँगै १० फिटको दूरीमा यिनीहरुले मन्दिर निर्माण गर्न खोजेको हो । पहिलादेखि नै विवाद भइरहेको मन्दिर निर्माणपछि झन विवाद बढने भएकाले रोक लगाएका हौं ।

उनले थप्दै भने दलितहरुलाई उनीहरुको भूईया महाराजको मन्दिर नजिक निर्माण गर्न जग्गा र बजेट समेत दिइरहेका छौं । तर पनि उनीहरु मानिरहेको छैन । अनाहकको विवाद गर्न खोजिएको हो । सिडिओ साहेब समेत शान्ति सुरक्षाको दृष्टिगत गर्दै उनीहरुलाई सम्झाउन खोज्दा मानेनन् ।

शेयर गर्नुहोस :

0
Shares