Banner news

अर्जुनधाराका टोलटोलमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

अर्जुनधाराका टोलटोलमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा


बिर्तामोड । झापाको अर्जुनधारा –८ स्थित शनिश्चरे चोकमा ज्येष्ठ नागरिक चौतारी छ । जहाँ दिनभर ज्येष्ठ नागरिकहरु गफिएर बसिरहेका हुन्छन् । दैनिक भेला हुने ज्येष्ठ नागरिकहरु सुख, दुखका गफ गर्दै देशको राजनीतिक घटना क्रमबारे चिन्ता व्यक्त गर्दै आएका छन् । त्यहि चौतारीमा उनीहरुले निशुल्क स्वास्थ्य सेवा समेत पाउँदै आएका छन् ।

अर्जुनधारा – ८ को आधारभुत स्वास्थ्य केन्द्रले हरेक महिनाको १६ गते ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । २०८१ मंसिरदेखि वडा कार्यालयले टोलटोलमा र ज्येष्ठ नागरिक चौतारीमा स्वास्थ्य जाँच गर्दै आएको वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेती जानकारी दिए । उनका अनुसार पाक्षिक रुपमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य जाँच गरिदै आएको उप्रेतीको भनाई छ । ज्येष्ठ नागरिकलाई मानसिक स्वास्थ्य सम्बन्धी परामर्श समेत दिने गरिएको जनाइएको छ । भदौं १६ गते ज्येष्ठ चौतारीमा ४० जनाभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान गरिएको स्वास्थ्य केन्द्रकी नर्सिङ निरीक्षक मञ्जु बास्तोलाले जानकारी दिइन् । उनका अनुसार गर्भवतीहरुलाई पनि स्वास्थ्य केन्द्रलाई बोलाएर काउन्सिलिङ गर्ने गरिएको छ । उनले ज्येष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

स्वास्थ्य सेवा पाउने ज्येष्ठ नागरिक उपेन्द्र प्रसाद दाहालले धन्यवाद व्यक्त गरेका छन् । उनले निशुल्क स्वास्थ्य सेवा पाएकोमा स्वास्थ्य केन्द्रलाई धन्यवाद दिएका हुन् ।

अर्जुनधारा नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई नीति कार्यक्रममै समेटेको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिए । आर्थिक वर्ष २०८३-०८४ को नीति कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको उनको भनाई छ । नगर प्रमुख तामाङका अनुसार टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ नीति कार्यक्रम ल्याइएको हो ।

अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुइकेलले ज्येष्ठ नागरिकहरु उपचारका लागि स्वास्थ्य संस्थासम्म जान सक्ने अवस्था नरहेकाले टोलटोलमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने लागिएको जानकारी दिए । ज्येष्ठ नागरिकहरुलाई गाह्रो अप्ठ्यारो सोधिदिने कमै हुनुहुन्छ, उनले भने – ‘ज्येष्ठ नागरिकका छोराछोरी स्वदेशमा व्यस्त हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ । विरामी हुँदा स्वास्थ्य संस्थामा पुराउने मान्छेको अभाव छ । नातिनातिनी पुस्ता र ज्येष्ठ नागरिकबीच संवादको ग्याप छ ।’

शाखा प्रमुख लुईटेलले ज्येष्ठ नागरिकहरुमा उमेरगत समस्याहरु धेरै पाइने गरेको बताए । कान कम सुन्ने, आँखा नदेख्ने, गोडा दुख्ने, पाचन प्रक्रिया, दीर्घरोग समस्याका रुपमा देखिने गरेको उनको भनाई छ । सुगर प्रेसर भएपछि घाउचोटहरु निको भइरहेको हुदैन, उनले थपे – वृद्धवृद्धाहरु सानो घाउचोटलाई वेवास्था गरिरहनु भएको हुन्छ ।
टोलटोलमा स्वास्थ्यकर्मी पुगेपछि स्वास्थ्य जाँचसँगै ज्येष्ठ नागरिकमा एक्लोपनको समेत कमि हुने उनको बुझाई छ । गाउँघरमा ज्येष्ठ नागरिकलाई भेटेर स्वास्थ्य जाँच गरेपछि स्थानीय सरकारको उपस्थिति घरघरसम्म पुग्ने बुझाई छ । उनी भन्छन् – नीति कार्यक्रममै स्वास्थ्य सेवालाई टोलटोलमा पुराउने, ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने कार्यक्रमलाई प्रभावकारी बनाइने छ ।

पारिवारिक व्यस्तता भएको परिवारका लागि यो कार्यक्रम अति नै प्रभावकारी हुने जनाइएको छ । यता, नगरपालिकाको स्वास्थ्य सेवा टोलटोलसम्म विस्तार गर्न यो कार्यक्रम उपयोगी अपेक्षा गरिएको छ । वृद्धवृद्धाहरुलाई जहाँ भेला हुनुहुन्छ, त्यहाँ पुगेर उपचार सेवा प्रदान गर्नेछौं, कुइकेलले भने ।

शेयर गर्नुहोस :

0
Shares