Banner news

बिर्तामोडमा नेटवर्किङ धन्दा : चिकित्सक भनिनेविरुद्ध म्याद थप, ३९ जना छुटे

बिर्तामोडमा नेटवर्किङ धन्दा : चिकित्सक भनिनेविरुद्ध म्याद थप, ३९ जना छुटे


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५, मित्रनगरमा स्वास्थ्य उपचार तथा परीक्षणको नाममा सर्वसाधारणलाई भ्रममा पारी फुड सप्लिमेन्ट्स बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले एक घरको दोस्रो फ्ल्याटमा छापा मारेको थियो । उक्त फ्ल्याट बाहिर ‘अर्जुनधारा मल्टिप्रपोज’ को बोर्ड राखिएको भए पनि भित्र ग्लोवल ओरियन्स नेपाल नामक कम्पनी सञ्चालनमा रहेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा १९ पुरुष र २२ महिला गरी कुल ४१ जना रहेका छन् । तीमध्ये कक्षा १२ सम्म मात्र अध्ययन गरेका र आफूलाई कम्पनीको चिकित्सक बताउने इलाम रोङ गाउँपालिका–३ का ४९ वर्षीय पिताम्बर कट्टेल र इलाम देउमाई नगरपालिका–९ का २८ वर्षीय सुजन लिम्बुलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । बाँकी ३९ जनालाई आवश्यक सोधपुछ पश्चात् छाडिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कम्पनीका कर्मचारीहरूले विभिन्न परिचयपत्र प्रयोग गरी युवायुवतीहरूलाई मानिसहरू प्रलोभनमा पारी ‘होल बढी चेकअप ’ का लागि ल्याउने प्रशिक्षण दिने, घर–घरमा पुगेर स्वास्थ्य समस्या पहिचान गर्ने नाममा रकम असुल्ने र विभिन्न फुड सप्लिमेन्ट्स बिक्री तथा सिफारिस गर्ने गरेको पाइएको छ ।

घटनास्थलबाट प्रहरीले ३ थान ल्यापटप, ३९ थान मोबाइल, १ थान पेनड्राइभ, २ थान मेमोरी कार्ड, रु. ८६ हजार ७ सय ५५ रुपैयाँ नगद, कम्पनीका अभिलेख तथा कागजातहरूका साथै ३१ किसिमका औषधिजन्य सामानहरू बरामद गरेको झापा प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares