गणेश कोइराला
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–९ मा राजवंशी समुदायको धार्मिक तथा सांस्कृतिक पर्व दधिकादो भव्यता साथ सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका–७, ८ र ९ का राजवंशी समाज विकास समितिको संयुक्त आयोजनामा कृष्ण जन्माष्टमीको भोलीपल्ट शनिबार आयोजित कार्यक्रममा परम्परागत खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन गरिएको हो ।
राजवंशी समुदायले पूर्वी नेपालका झापा, मोरङ र सुनसरीलगायतका जिल्लामा कृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकादो पर्व मनाउँदै आएका छन् । भगवान् श्रीकृष्णको जन्मोत्सवसँग जोडिएको यस पर्वमा दही र हिलोको धार्मिक तथा सांस्कृतिक महत्वलाई स्मरण गर्दै विभिन्न परम्परागत खेल खेलाउने गरिन्छ । दधिकादोमा हिलो खेल्ने, नरिवल खोस्ने तथा चिल्लो बाँस चढेर पुरस्कार हात पार्ने प्रतियोगिताले विशेष आकर्षण थप्ने गरेको छ ।

यसै परम्परालाई निरन्तरता दिँदै बिर्तामोड–९ मा आयोजित कार्यक्रममा नरिवल मन्दिरभित्र पठाउने र खोस्ने खेलसँगै बाँस चढ्ने प्रतियोगिता सञ्चालन गरिएको थियो । नरिवल खोस्ने खेलमा दुई टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ भने बाँस चढ्ने प्रतियोगितामा चिल्लो बाँसको टुप्पोमा राखिएको पुरस्कार हात पार्न खेलाडीहरूले प्रतिस्पर्धा गर्छन् ।
कार्यक्रम राजबंशी समुदायका अगुवा ब्यक्तित्व सम्पतलाल राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राजवंशी समाज विकास समिति झापाका जिल्ला उपाध्यक्ष जितलाल राजवंशी, बिर्तामोड–७ का वडा सदस्य तथा कार्यपालिका सदस्य लक्षिमा खतिवडालगायतको उपस्थिति रहेको थियो ।

दधिकादो खेलको पहिलो चरण अन्तर्गत नरिवल मन्दिरमा चढाउने प्रतियोगितामा बिर्तामोड–४ को नयाँबारी टोलीले विजय हासिल गरेको छ । त्यस्तै, चिप्लो बाँस चढ्न बिर्तामोड–९ का गौरव राजवंशी सफल भएका छन् । धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकतासँग जोडिएको दधिकादो पर्वले राजवंशी समुदायको मौलिक परम्परालाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने यस पर्वमा धार्मिक उत्सवसँगै परम्परागत खेलकुद र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिँदा नयाँ पुस्तासमेत आफ्नो संस्कृति र परम्परासँग जोडिन अवसर पाउने गरेका छन् ।
पछिल्लो समय यस खेलमा राजबंशी समुदाय मात्र नभएर सबै समुदायको सहभागिता रहने गरेको छ ।
यस्ता कार्यक्रमले राजवंशी समुदायको मौलिक संस्कृति, धार्मिक परम्परा र सामाजिक सद्भावलाई निरन्तरता दिनुका साथै समुदायबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया