Banner news

अब जामुनखाडी सिमसारमा पर्यटकलाई ‘फिसिङ’ गर्न दिइने

अब जामुनखाडी सिमसारमा पर्यटकलाई ‘फिसिङ’ गर्न दिइने


बिर्तामोड । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासर तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि कोशी प्रदेशकै पहिलो सुविधाका रुपमा सिमसारमा वल्छीबाट माछा मार्न ‘फिसिङ’ कार्यक्रम सुरु गरिएको छ ।

यसअघि जंगली जनावरको दृश्यावलोकन तथा बोटिङको मज्जा लिदै आएकोमा थप पर्यटक लक्षित फिसिङ सेवाको समेत विस्तार गरेको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय स्थानका अध्यक्ष परशुराम गिरीले बताउँनुभयो ।

पर्यटकहरुका लागि एक सय रुपैँयाको टिकट काटेपछि एउटा माछा मार्ने टागो र चारो उपलब्ध हुने र जति माछा मार्छन् सो सबै खरिद गरेर समेत लैजान पाउने प्रबन्ध गरिएको जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार तथा पर्यटकिय संस्थाका सचिव दिपक ओलीले बताउँनुभयो । पर्यटकका लागि सामुदायिक वन क्षेत्र भित्र रहेकामध्ये एउटा पोखरीलाई छुट्टाइएको र त्यसमा माछा पालन गरिएको छ ।

यसैबीच हाल उक्त पोखरीमा माछा पालन गरिएको छ, भने बोटिङ समेत गर्ने प्रबन्ध रहेको छ । सामुदायिक वनभित्र संकटमा रहेका जंगली जनावरहरु चितुवा, मृग, अंजिगर, भालु लगायातका जनावार र गिद्ध, चिल, हुचिल, लाटकोसेरो लगायातका पंछिहरु समेत संरक्षण गरेर राखिएको छ ।

जंगली जनावार र नौका विहार पछि पनि पानीमा बल्छी खेल्ने इच्छा हुनेहरुका लागि थप आकर्षणका लागि यो सुविधा राखिएको वन समुहले जनाएको छ ।

यस प्रकारको पोखरीमा फिसिङ गर्ने सुविधा कोशी प्रदेशमै पहिलो भएको वन समुहको दावी रहेको छ । वन समुहभित्र माछा मार्ने फिसिङ सुविधा थप गरिएसँगै नेपाल तथा छिमेकी मुलुक भारतबाट समेत फिसिङ गर्नका लागि पर्यटकहरु आउन थालेको वन समुहले जनाएको छ ।

विशेष कार्यक्रमका बिच शनिवार जामुनखाडी सिमसारमा फिसिङ सेवाको सुरुवात गरिएको हो । जहाँ नेपाल तथा भारतका मिरिक, सिक्किम लगायातका क्षेत्रबाट पर्यटकहरु बल्छी खेल्नका लागि आएका थिए । कार्यक्रमको उदघाटन गर्नु हँुदै जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारका अध्यक्ष परशुराम गिरीले सिमसारमा कुनै पनि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मन भुलाउन सबै प्रकारका सुविधाहरुको व्यवस्था गर्ने गरेको बताउँनुभयो ।

कार्यक्रममा बोल्दै कनकाई २ नम्बरका अध्यक्ष प्रताव राईले फिसिङ सेवा सुरु गरेर पर्यटकको थप आकर्षणको केन्द्र बनाएको भन्दै बधाई दिनुभयो । यसैबिच शनिवारै शिशिरको नेतृत्वमा रहेको मिरिकबाट आएको व्यावसायिक फिसिङ टोलीले सिमसारमा औपचारिक रुपमा फिसिङको सेवा सुरु गरेको छ । फिसिङ सेवा सुरु गरेसँगै उहाँहरुले यस स्थानको सुन्दरताले फिसिङ गर्न मन पराउनेहरुका लागि थप आकर्षित गर्ने बताउँनुभयो ।

जामुनवारी सामुदायिक वन समुह तथा सिमसारमा यसै बर्षबाट योग साधना र पर्यापर्यटनका लागि संघीय सरकारबाट समेत ३ करोड रुपैँया बजेट विनियोजन भएको वन समुहका अध्यक्ष परशुराम गिरीले बताउनुभयो ।

शेयर गर्नुहोस :

0
Shares