एक्सेल बैंकका अध्यक्ष महेन्द्र कुमार गोयल र पत्नी ज्योती कुमारी सरावगीमाथि गम्भीर आरोप
प्रदीप परियार
बिर्तामोड । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष महेन्द्र कुमार गोयलले श्रीमति ज्योती कुमारी सरावगीलाई प्रयोग गरेर २ लाख ९८ हजार ७ कित्ता शेयर हत्याउन किर्ते करारनामा गराएको विषय सार्वजनिक भएको छ । झापा बुद्धशान्ति –३ का स्थायीबासी बजरंग गोयलले आफ्नो शेयर हत्याउन बैंकको अध्यक्षले श्रीमति सरावगी मार्फत किर्ते करारनामा खडा गरेको सार्वजनिक गरेका हुन् ।

बजरंग एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनी हुन् । उनले बैंकको साधारण शेयर पनि खरिद गरेका छन् ।
आफुलाई थाहा नदिई सरावगीले किर्ते करारनामा तयार पारेको भेटिएको बजरंगले बताए । बजरंग र सरावगीको परिवारका बिचमा वर्षौदेखि आर्थिक कारोवार हुदैं आएको थियो । आर्थिक कारोवार भइरहे पनि बजरंगले शेयर हस्तान्तन्तरणका लागि कुनै करारनामा नगरेको जिकिर गरेका छन् । उनले बैंकमा शेयर विक्री गरेर आफ्नो बैंकिङ कारोवार मिलान गर्न जाँदा मात्रै शेयर रोक्का भएको थाहा पाएका थिए । बजरंगले उपलब्ध गराएको करारनामा २०८० बैशाख २६ गतेको मितिमा बनाएको उल्लेख छ । करारनामा परिपालना गर्नुपर्ने भन्दै बैंकको अध्यक्षको पत्नी सरावगीले अदालतमा मुद्धा दायर गरेकी थिइन् ।
सोही किर्ते कागजातका आधारमा परेको मुद्दामा काठमाडौँ जिल्ला अदालतले ०८२ फागुन २८ मा करारनामा उल्लेख दाबी बिगो रु.३ करोड २२ लाख बराबरको शेयर मात्र रोक्का राखी बाँकी सेयर फुकुवा गर्ने आदेश दिएको थियो ।
तर, उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा परेको निवेदनमा सुनुवाई गर्दै ०८३ बैशाख २४ मा काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्ने निर्णय भएको थियो । पीडित बजरंगले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ अन्तर्गत अन्तरकालीन आदेश जारी गर्ने कानुनी व्यवस्था नहुँदा नहुँदै र विपक्षीलाई सुनुवाइको उचित अवसरसम्म नदिई गरिएको आदेश कानुन प्रतिकूल रहेकोले मान्य नहुने धारणा राखेका छन् ।
बजरंगले उक्त करार सम्झौता विशेषज्ञ मार्फत परीक्षण गराएका छन् । वरिष्ठ रेखा तथा लेखा विशेषज्ञ केशव बहादुर थापा क्षेत्रीले करारनामा कागजमा बजरंगको नमूना ल्याप्चे छाप देखिएको आकृति, आपसमा फरक –फरक नभिडेको अर्थात अलग–अलग व्यक्तिका ल्याप्चे छाप लाग्न गएको निष्कर्षसहितको राय दिएका छन् ।
‘उक्त रायका आधारमा समेत करारनामा स्वतः किर्ते प्रभाणित भएको छ,’ बजरंगले भने – यो तथ्य र आधारसहित मैले सबै प्रमाण अदालतमा बुझाइसकेको छु । काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्ने पाटन अदालतको आदेश विरुद्ध बजरंगले न्याय परिषद्को कार्यालय सिहंदरबारमा समेत निवेदन पेस गरेका छन् ।
उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतका नाममा ०८३ भदौं १८ गते आदेश गर्दै भनेको छ, ‘ यसमा करारको यथावत परिपालना गरि पाउँ भनि दावी लिएको विषयवस्तुसँग सम्बन्धित शेयरमा विवाद उत्पन्न भएको र विवादित शेयरहरु तत्काल रोक्का राख्ने गरि त्यहाँ अदालतबाट २०८३ जेठ १२ को आदेश वेरितको नदेखिँदा हाल बदर गरिरहनु परेन । अब, शेयर खरिद विक्री गर्ने सम्बन्धी करार नै किर्ते हो भन्ने फिराद परिरहेको सन्दर्भमा उक्त करारको लिखत पेश भई मुलुकी देवानी कार्यविधिसंहिता , २०७४ को दफा १७२ को प्रक्रिया अपनाई परीक्षण प्रतिवेदन प्राप्त भएपछि निवेदन पर्न आएमा उक्त शेयरहरु रोक्का राख्नुपर्ने वा नपर्ने सम्बन्धमा पुनः आदेश गर्नुहोला ।
एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोडमा रहेकोमध्ये ८१,४९५ कित्ता साधारण र २,१७,४१२ कित्ता संस्थापक सेयरको अनुमानित मूल्य रु. १३ करोड ७१ लाख रुपैयाँ हुने बजरंगले बताएका छन् । त्यसमध्ये करारनामामा बजरंगलाई ३ करोड २२ लाख रुपैयाँ भुक्तानी दिएको देखाएर उनको सम्पूर्ण शेयर हत्याउन खोजेको उनको आरोप छ । बजरंगका अनुसार उक्त करारनामा कुनै पनि सरकारी निकायमा प्रमाणित भएको छैन ।
यस विषयमा इजलाससित कुरा गर्दै बैंकका अध्यक्ष गोयलले अदालतमा विचाराधिन मुद्धाको विषयमा आफुले थप कुनै प्रतिक्रिया नदिने बताए ।








प्रतिक्रिया