मुख्य समाचार

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने

Stranded passenger vehicles are parked due to bundh called by various small parties, at old Buspark, Ratnapark, Kathmandu on Monday.Photo: THT/ File

काठमाडौँ । यातायात व्यवस्था विभागले जारी विपद् र आगामी दिनको मौसम पूर्वानुमान विश्लेषण गरेपछि मात्र दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने भएको छ।

चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनबारे सोमबार काठमाडौँमा भएको सरोकारवाला निकायको छलफलमा मौसमको अवस्था हेरेर मात्रै अग्रिम बुकिङ खुलाउनु उपयुक्त हुने सुझाव आएको विभागले जनाएको छ।

सरोकारवालाको सुझाव र सडकको अवस्थाका आधारमा अग्रिम टिकट बुकिङको मिति तय गरिनेछ। विभागले बुकिङ खुल्ने निश्चित मिति भने घोषणा गरेको छैन।

सवारीको वास्तविक फिटनेस परीक्षण गर्न निर्देशन
चाडपर्वमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ कडाइका साथ गरिने विभागका महानिर्देशक राजीव पोखरेलले बताएका छन्।

फिटनेस परीक्षणलाई औपचारिकतामा सीमित नराखी सवारीसाधनको वास्तविक प्राविधिक अवस्था जाँच गरेपछि मात्र रुट इजाजत दिन सम्बन्धित निकायलाई निर्देशन दिइनेछ।

चाडपर्वमा यात्रुको चाप बढ्ने र लामो दूरीमा धेरै सवारी सञ्चालन हुने भएकाले सवारीको प्राविधिक अवस्था र यात्रु सुरक्षामा विशेष ध्यान दिइने विभागले जनाएको छ।

अनुगमनको जिम्मा प्रमुख जिल्ला अधिकारीलाई
सडक जाम नियन्त्रण, सवारीसाधन छुट्ने समयको पालना तथा राजमार्ग क्षेत्रका होटेल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमन गरिने भएको छ।

यसका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवार बनाउने तयारी गरिएको महानिर्देशक पोखरेलले जानकारी दिएका छन्।

प्रमुख जिल्ला अधिकारीको समन्वयमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित कार्यालयमार्फत राजमार्ग तथा सार्वजनिक यातायात सेवाको अनुगमन गरिनेछ।

क्षतिग्रस्त राजमार्ग मर्मत गर्न पत्राचार गरिने
बाढी र पहिरोका कारण प्रभावित बीपी राजमार्ग तथा हेटौँडा जोड्ने सडकसहितका प्रमुख राजमार्ग तत्काल सफा र मर्मत गर्न सडक विभागलाई पत्राचार गरिने भएको छ।

यातायात विभागले पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई आवश्यक तयारी र मर्मतको काम तीव्र बनाउन पत्र पठाउने जनाएको छ।

यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न अवरुद्ध सडक खुलाउने, जोखिमयुक्त खण्ड मर्मत गर्ने र वैकल्पिक मार्गको व्यवस्थापनमा जोड दिइएको छ।

चाडपर्वभर इन्धनको मूल्य स्थिर राख्न पहल
छलफलमा चाडपर्वका बेला पेट्रोलियम पदार्थको मूल्य बढे पनि सार्वजनिक यातायातको भाडा नबढ्ने वातावरण बनाउन इन्धनको मूल्य स्थिर राख्न पहल गर्ने निर्णय भएको छ।

यसका लागि उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत आवश्यक समन्वय गरिने विभागले जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि चाडपर्वभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन सरकारसँग आग्रह गरेका छन्। उनले पछिल्लो भाडा समायोजनमा देखिएका प्राविधिक त्रुटि सुधार गर्न पनि माग गरे।

व्यवसायीहरू अनलाइन टिकटिङ र प्रविधिमैत्री सेवा लागू गर्न तयार रहेको उल्लेख गर्दै सिटौलाले स्पष्ट कार्यविधि तथा प्राविधिक मापदण्ड बनाउन विभागको ध्यानाकर्षण गराएका छन्।

शेयर गर्नुहोस :

108
Shares