काठमाडौँ, ६ असोज – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।
उहाँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहलाई कतारको दोहास्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ ।
प्रधानमन्त्री शाह दोहाबाट स्थानीय समयअनुसार बुधबार १ः४५ बजे न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ । उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ ।
सोही दिन प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ । त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्का लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले ब्रिफिङ गर्नुहुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाह उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरूले आयोजना गर्ने समारोहमा सरिक हुनुहुने कार्यक्रम छ ।
असोज ८ गते प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ ।
असोज ९ गते प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहाका लागि प्रस्थान हुनुहुनेछ । उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत अरनलगायतका अधिकारीहरूले बिदाइ गर्नुहुनेछ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्कने तालिका छ ।








प्रतिक्रिया