झापा । नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले स्थानीय तहको आगामी पाँच वर्षको विकासका लागि युवाहरूको दृष्टिकोण समेट्दै बृहत् ‘विकास–विचार प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजना सहितको साझा दृष्टिकोण’ भन्ने मूल नारासहित सुरु हुन लागेको यो प्रतियोगितामा १३ देखि ४० वर्ष उमेर समूहका युवा तथा विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन् ।
पालिकाको आठौं पूर्ण बैठकबाट पारित कार्ययोजना अनुसार आयोजना गरिएको यस प्रतियोगिताको मुख्य शीर्षक ‘बाह्रदशी विकासका लागि ५ वर्षे दृष्टि’ राखिएको नेकपा एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाले जानकारी दिए । स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी त्यसको व्यावहारिक समाधान र भावी रणनीतिको खाका युवाहरूको मुखबाट सुन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको अध्यक्ष सापकोटाको भनाई छ ।

प्रतियोगितामा सहभागीहरूले कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी तथा उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा, युवा तथा खेलकुद लगायतका १२ वटा क्षेत्रहरूमध्ये कुनै एक वा सबैलाई समेटेर आफ्नो अवधारणा तयार पार्न सक्नेछन् । प्रस्तुति दिँदा मुख्य रूपमा समस्या, समाधान र ५ वर्षमा बाह्रदशीको रूपरेखा स्पष्ट रूपमा झल्काउनु पर्ने सापकोटाको धारणा छ ।
सहभागिताको मापदण्ड
बाह्रदशी गाउँपालिका स्थायी ठेगाना भएका वा सो भूगोलमा अध्ययन, पेशा तथा व्यवसाय गर्ने १३ देखि ४० वर्ष उमेर समूहका युवाहरू (सरकारी वा शिक्षण पेशाबाहेक) सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीले बढीमा ५ मिनेटको आफ्नो प्रस्तुतिको भिडियो तयार गरी २०८३ साल असोज २३ गते दिउँसो ४ः०० बजेभित्र आधिकारिक ह्वाट्सएप नम्बर ९८०१४४४७०१९ मा पठाउनुपर्ने छ ।
अध्यक्ष सापकोटाका अनुसार प्राप्त भिडियोहरूमध्येबाट आन्तरिक मूल्याङकनका आधारमा छानिएका ४० वटा उत्कृष्ट भिडियोहरू असोज २५ गते (घटस्थापना) देखि ‘नेकपा एमाले बाह्रदशी’ को आधिकारिक फेसबुक पेजमार्फत क्रमशः सार्वजनिक गरिनेछ ।

सामाजिक सञ्जालमा प्राप्त हुने इन्गेजमेन्ट (लाइक, कमेन्ट, सेयर) र विज्ञहरूको मूल्याङकनका आधारमा छनोट भएका प्रतियोगीहरूलाई विशेष ‘ओरिएन्टेशन क्याम्प’ र कार्यशाला तालिम प्रदान गरिने जनाइएको छ । त्यसपश्चात मंसीरको पहिलो साता राजगढस्थित एभरेष्ट डिजिटल सिनेमा हलमा भव्य फाइनल राउन्ड सम्पन्न हुने आयोजक नेकपा एमाले बाह्रदशीले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २५,००० रुपैयाँ, द्वितीयलाई १५,००० रुपैयाँ, तृतीयलाई १०,००० रुपैयाँ तथा बाँकी ७ जनालाई सान्त्वना स्वरूप जनही ५,००० रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
युवाहरूको बौद्धिक पलायन रोक्दै नीति निर्माण तहमा युवा सहभागिता सुनिश्चित गर्न यो कार्यक्रम कोसेढुङ्गा साबित हुने एमालेको विश्वास छ ।








प्रतिक्रिया