प्रदीप परियार
बिर्तामोड । झापाको बिर्तामोडमा अघोषित रुपमा २८ महिनादेखि चिठ्ठा खेलाइरहेको एनके प्यूरिफायरले ग्राहकहरुमाथि धाँदली गरेको आरोप लागेको छ ।
प्यूरिफायरको व्यापारका नाममा चिठ्ठा खेलाइरहेको एनकेले फाइदाबाट ग्राहकलाई उपहार वितरण गर्ने योजनाअघि सारेर १० हजार नागरिकको लगानीमाथि खेलवाड गरेको छ । पानी फिल्टर गर्ने मेसिन (प्यूरिफायर) किस्तामा दिने नाममा घुमाउरो पारामा एनकेले चिठ्ठा खेलाइरहेको ग्राहकहरुले आरोप लगाएका छन् ।
एन.के. नेपाल ट्रेड एण्ड सप्लायर्स प्रा.लि. बिर्तामोड (एनके प्यूरिफायर) को योजनामा लोभिएका ग्राहकहरुमाथि धाँदली गरेको आरोप लागेको हो । बुधबार बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित फाइनल उपहार वितरण कार्यक्रममा ग्राहकसँगको सम्झौता र कम्पनीको नियम विपरित योजना अघि बढाएपछि विवाद भएको थियो ।

उपहार वितरणका लागि २४ औं स्कीममा ९ हजार ८९५ जनालाई एनके प्यूरिफायर वितरण सुरुमा गर्नु पर्नेमा नगरी अर्को स्कीममा प्रवेश गरेको भन्दै ग्राहकहरुले आपत्ति जनाएका थिए । सोही विषयलाई लिएर विवाद भएपछि उपहार वितरण कार्यक्रम नै प्रभावित भएको थियो ।
सम्झौतामा एनके प्यूरिफायरले नियम तथा शर्तहरुको बुँदा नं. ५ मा रहेको व्यवस्थालाई उल्लंघन गरेको ग्राहकहरुले आरोप लगाएका छन् । उक्त बुँदामा भएको व्यवस्थालाई छोडेर अघि बढेपछि कार्यक्रमस्थलमा तनाव भएको थियो । ग्राहकहरुले कम्पनीलाई उक्त बुँदाको परिपालना गर्न आग्रह गर्न थालेपछि प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था आएको थियो ।
बुँदा नं. ५ मा छ, ‘तेस्रो चरण : दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरु मध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ।’
ग्राहकहरुले उक्त बुँदा उल्लंघन गरेको आरोप लगाएपछि कार्यक्रमस्थलमा बबालै भएको थियो । घटनास्थलमा सुरक्षा दिन प्रहरी नै परिचालन गरिएको थियो । प्रहरी टोलीले एनकेको लक्की नम्बर उठाउने ४ थान गाग्री (टोकन नम्वरसहित) नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको गाग्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा सुरक्षित राखिएको छ ।
सयौं ग्राहकले कम्पनीले ठगी गरेको भन्दै इलाका प्रहरी कार्यालय पुगेर आवश्यक कारबाहीको लागि निवेदन समेत दिएका छन् । उनीहरुले एनकेको बद्मासीका कारण झापा, मोरङ र इलामका ९ हजार ९९९ जना पीडित बनेको बताएका छन् । एजेन्ट मार्फत गाउँगाउँमा एनकेले ग्राहक बनाउँदै आएको थियो ।
प्रहरी कार्यालय पुगेका ग्राहकहरुले नियम बमोजिक उपहार योजना सञ्चालन हुनुपर्ने र कम्पनीको वैद्यता जाँच गरिनुपर्ने माग राखेका छन् । विभिन्न उपहार योजनामा ९ हजार ९९९ जना ग्राहकले उक्त कार्यक्रममा सामेल भई २८ किस्ता बुझाइसकेका छन् । १ जना ग्राहकले १ किस्तामा १३५५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । १ जना ग्राहकले २८ किस्तामा ३७ हजार ९४० रुपैयाँ बुझाउनुपर्ने पीडित ग्राहकहरुको भनाई छ । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ । ९ हजार ९९९ ग्राहक नबनाएसम्म उपहार योजनाको कार्यक्रम समेत सञ्चालन नगर्ने बुझिएको छ ।
भद्रपुरका ग्राहक कुमार रसाईलीले किस्ताबन्दीमा ३७ हजार ९ सय ४० रुपैयाँ पर्ने प्यूरिफाई पाइने भएपछि उक्त कार्यक्रममा जोडिएको बताए । मासिक १३ सय ५५ रुपैयाँ २८ महिनासम्म तिरेपछि प्यूरिफायर पाइने उपहार योजनामा उल्लेख छ । मासिक रुपमा ३७ जनालाई उपहार पर्ने उनको भनाई छ । महिना महिनामा खुलाइने उपहारमा २ जनालाई मोटरसाइकलसहित एसी, आइफोन, फ्रिज, टिभी, ल्यापटप, वासिङमेसिन लगायतका उपहार वितरण गर्ने गरिएको थियो ।
सोही अनुसार उपहार वितरण गर्दै कम्पनीले अन्तिम २८ औं किस्ता अर्थात २४ औं बम्पर उपहार वितरण कार्यक्रममा आएर धाँदली गरेको रसाईलीको आरोप छ । रसाईलीका अनुसार २३ औं बम्पर कार्यक्रमसम्म आइपुग्दा ४६ जना ग्राहक विदा भइसकेका छन् । उनले त्यसबाट बाँकी रहेका ग्राहकलाई २४ औं बम्बरमा सहभागी गराई अन्तिम भाग्यशाली ११ मध्ये १० जनालाई मोटरसाईकल वितरण गरेर रहेको १ जनालाई कार वितरण गर्ने व्यवस्था गरिएको बताए ।
जबकि, कारका लागि बुँदा नं. ५ मा उल्लेख भए अनुसार दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरु मध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ, भन्ने उल्लेख छ ।
ग्राहक रसाईलीले भने कम्पनीले गलत बाटो रोज्यो, उनले भने – अब कम्पनीले सम्झौता गरेको नियम तथा शर्तहरुबाट उपहार वितरण गरिनुपर्छ । अन्यथा, सबै ग्राहकको पैसा व्याजसहित फिर्ता गर्नुपर्छ ।








प्रतिक्रिया