मुख्य समाचार

नेतृत्वको आलोचनालाई आफ्नो लोकप्रियताको माध्यम नबनाउ : क्षितिज थेबे

नेतृत्वको आलोचनालाई आफ्नो लोकप्रियताको माध्यम नबनाउ : क्षितिज थेबे


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य क्षितिज थेबेले नेतृत्वको आलोचनालाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन्।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै थेबेले संकटका बेला नेतृत्वले संगठनलाई अनिश्चित अवस्थामा छाड्न नहुने बताए। ‘जिम्मेवारी स्वीकार गर्नु भनेको मैदान छोड्नु होइन, घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो,’ उनले भने।

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको दस्तावेजको प्रशंसा गर्दै थेबेले त्यसलाई पार्टीको आगामी कार्यदिशाका लागि विस्तृत योजना भएको बताए। उनले दस्तावेजमा कार्यकर्ताका प्रश्न, समकालीन नेपाली समाज र राजनीतिका विषय, पार्टीका कार्यभार तथा भूराजनीतिक र अन्तर्राष्ट्रिय विषयलाई समेटिएको उल्लेख गरे।

दस्तावेजको दृष्टिकोणलाई एकताबद्ध भएर कार्यान्वयन गर्न सके एमालेलाई ठूलो र बलियो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ थियो। पार्टी निर्माणका लागि आलोचना मात्रै नभई स्पष्ट योजना, कार्यक्रम र कार्यदिशा आवश्यक रहेको उनले बताए।

‘नेतृत्वको आलोचना गर्ने, पार्टीको आलोचना गर्ने र त्यसैलाई आफ्नो राजनीतिक लोकप्रियता निर्माण गर्ने माध्यम बनाउने प्रवृत्ति हामीले कति दिनसम्म बोकेर हिँड्ने?’ उनले प्रश्न गरे।

नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरू विभाजन र विलयको अनुभवबाट गुज्रिएको उल्लेख गर्दै थेबेले अहिले पार्टीको ‘घर बनाउने समय’ भएको बताए। ‘नेतृत्वलाई खुइल्याएर नेता बन्ने प्रवृत्तिले घर बन्दैन, घर भत्काउने काम बन्द गरौँ,’ उनले भने।
निर्वाचनका क्रममा पार्टीबाट टाढिएका व्यक्तिहरू पुनः फर्किन खोजिरहेको उल्लेख गर्दै उनले उनीहरूलाई पार्टीमा फर्कने वातावरण निर्माण गर्नुपर्ने बताए। देशमा संकटको अवस्था सुरु भएको भन्दै उनले एमालेप्रति जनताको अपेक्षा बढिरहेको दाबी गरे।

प्रवासी नेपालीको ठूलो समुदाय रहेको उल्लेख गर्दै थेबेले डायस्पोरामा रहेका करिब ५०–६० लाख नेपालीबीच एमालेको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए। नयाँ पुस्ता, प्रवासी नेपाली, युवा, उद्यमी र आम नागरिकका अपेक्षा सम्बोधन गर्ने गरी नयाँ सोच, ऊर्जा र कार्यशैलीसहित पार्टी पुनर्संगठन गर्नुपर्ने उनको सुझाव थियो।

उनले ‘मिसन पार्टी जागरण अभियान’ र युवा इन्चार्जको जिम्मेवारी आफूले पूर्णरूपमा निर्वाह गरेको जानकारीसमेत बैठकलाई गराए। साथै, संविधानको रक्षा एमालेले गर्ने सन्देशसँगै भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि विशेष प्याकेज ल्याउनुपर्ने माग उनले बैठकसमक्ष राखे।

शेयर गर्नुहोस :

0
Shares