झापा । जिल्ला प्रहरी कार्यालय, झापाले अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानको सिलसिलामा मानव कंकालसहित दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
ललितपुर जिल्लाको साविक मनिखेल हाल महाकाल गाउँपालिका वडा नं. १ स्थायी वतन भएका ५६ वर्षीय दिलनाथ बजगाईं ०८१ साल कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका वडा नं. ६ काँकरभिट्टाबाट हराई बेपत्ता भएको सम्बन्धी उनकी श्रीमती तुलसा बुढा बजगाईंले दिएको निवेदनको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
अनुसन्धानको क्रममा हराइरहेका व्यक्ति दिलनाथ बजगाईंसँगै हिँड्ने उनका साथी शंकित राम भन्ने गुप्त बहादुर सिंहसँग सोधपुछ गर्दा उनले खुलाएको स्थानमा प्रहरीले खानतलासी गरेको थियो ।

मेचीनगर नगरपालिका वडा नं. ७ भान्सा खोला (गैरी गाउँ) स्थित जय प्रसाद तिवारीको जग्गामा प्रतिवादी राम भन्ने गुप्त बहादुर सिंहले सञ्चालन गरेको बंगुर फर्मभित्र बुधबार प्रहरी टोलीले स्थानीय मानिसहरू तथा जनप्रतिनिधिहरूको रोहबरमा जेसीबी लगाई उत्खनन गर्दा मानव आकृति दिखने कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
फेला परेको उक्त कंकाल निवेदक तुलसा बुढा बजगाईंको हराइरहेका श्रीमान् दिलनाथ बजगाईंको हो वा होइन यकीन गर्नका लागि बरामदित कंकाल प्रादेशिक अस्पताल भद्रपुरमा शव परीक्षण पश्चात् नमूना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा दुई जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला म्याग्दी घर भई हाल झापाको मेचीनगर नगरपालिका वडा नं. १० बस्ने ४५ वर्षका राम भन्ने गुप्त बहादुर सिंह र भारतको देश आलेजपुर विरपारा घर भई हाल झापाको मेचीनगर नगरपालिका वडा नं. ८ बस्ने ४९ वर्षका संजय लामा रहेका छन् । घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया