बिर्तामोड । बिर्तामोड नगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध ६० हजारभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ ।

असोज ९ देखि १५ गतेसम्म नगरपालिकाका १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको हो । खोप सञ्चालनका लागि नगरपालिकाले ५६ वटा खोप केन्द्र निर्धारण गरेर ३० जना स्वास्थ्यकर्मी खटाएको फोकल पर्सन जनस्वास्थ्य निरीक्षक गणेश रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवक, नगरस्तरीय खोप समन्वय समिति र वडास्तरीय रूपमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले तोकिएको अवधिमा पायक पर्ने स्थानमा गएर खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा बिर्तामोडका १ जनासहित ७ जनाको मृत्यु भइसकेको छ । गर्भवती तथा एलर्जीको समस्या भएका व्यक्तिहरूले यो खोप लगाउन नमिल्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिनुभयो ।
झापाका विभिन्न पालिकामा यो खोप अभियान निःशुल्करुपमा असोज ५ गतेदेखि नै सुरु भएको छ । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन हुँदैछ ।








प्रतिक्रिया