झापा । जिल्ला प्रशासन कार्यालय झापाले विगतको सेवा प्रवाहको परम्परा तोड्दै पछिल्लो समय एकै दिनमा उल्लेख्य संख्यामा सेवाग्राहीलाई सेवा प्रदान गर्न थालेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार एकै दिन राष्ट्रिय परिचयपत्रतर्फ ३२२ जना र राहदानीतर्फ २३५ जनाले सेवा प्राप्त गरेका छन् । यसअघि भन्दा कैयौँ गुणा बढी सेवाग्राहीलाई एकै दिन सेवा प्रवाह भइरहेको उनले बताएका छन् । सेवा प्रवाहमा भएको सुधारप्रति जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई धन्यवाद दिँदै प्रजिअ पोखरेलले उत्कृष्ट कार्यसम्पादनका लागि कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनका अनुसार कार्यालयबाट राहदानी सेवामा समेत दैनिक रूपमा उल्लेख्य संख्यामा सेवाग्राहीलाई सेवा दिइरहेको भए पनि राहदानी विभागबाट छपाइ भएर राहदानी नआउँदा केही सेवाग्राहीले राहदानीको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ ।
राहदानी छपाइमा भएको ढिलाइ जिल्ला प्रशासन कार्यालयको कारण नभएको स्पष्ट पार्दै प्रजिअ पोखरेलले यस विषयमा सरोकारवालाहरूलाई जानकारी गराएका छन्।सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले कार्यालयले कार्यसम्पादनमा तीव्रता दिएको जनाएको छ ।








प्रतिक्रिया