बिर्तामोड

झापाको होल्डिङ सेन्टरलाई तत्काल पुनर्स्थापना केन्द्र बनाउन सांसद घतानीको माग

झापाको होल्डिङ सेन्टरलाई तत्काल पुनर्स्थापना केन्द्र बनाउन सांसद घतानीको माग


बिर्तामोड । प्रतिनिधिसभा सदस्य निता घतानीले झापा जिल्लामा लागूऔषधको कारोबार र दुव्र्यसन दिनप्रतिदिन बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै संसद् मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

झापा जिल्ला नेपाल–भारत सीमासँग जोडिएको अत्यन्त संवेदनशील क्षेत्र भएकाले यसलाई लागूऔषध कारोबारको अखडा बन्न नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उहाँको जोड छ ।

झापाका मेचीनगर, भद्रपुर, हल्दीबारी, बाह्रदशी, कचनकवल , झापा, गौरीगञ्ज गाउँपालिका गरी ७ वटा स्थानीय तह प्रत्यक्ष रूपमा भारतसँग जोडिएका छन् । संसद्मा प्रस्तुत तथ्यांकअनुसार भदौ महिनामा प्रहरीले ५८ जनालाई ब्राउन सुगरसहित र १ जनालाई विभिन्न लागूऔषध चक्कीसहित पक्राउ गरेको छ । यो डरलाग्दो तथ्यांकले जिल्लामा लागूऔषधको समस्या तीव्र रूपमा फैलिरहेको स्पष्ट पार्छ ।

यस गम्भीर अवस्थालाई मध्यनजर गर्दै सांसद घतानीले सरकारसमक्ष सीमावर्ती नाकाहरूमा सुरक्षा निगरानी कडा बनाउन, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्न माग गर्नुभएको छ । साथै, युवाहरूलाई श्रम र सीपसँग जोड्ने कार्यक्रम तत्काल सञ्चालन गर्न, हरेक विद्यालय र कलेजमा सचेतनाका कार्यक्रमहरू गर्न तथा कोभिडको समयमा मेचीनगरमा बनेको होल्डिङ सेन्टरलाई तत्काल पुनस्र्थापना केन्द्रका रूपमा सञ्चालनमा ल्याउन उहाँले गृहमन्त्रीज्यूसमक्ष जोडदार माग गर्नुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares