प्रदीप परियार
बिर्तामोड । झापा बिर्तामोडको एनके प्यूरिफायर कम्पनीले लक्की ड्रमा धाँदली गरेको आरोप लगाउँदै ग्राहकहरुले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । ग्राहकहरुले बुधबार बिर्तामोडमा आयोजित उपहार वितरण कार्यक्रममा धाँदली भएको आरोपमा बिर्तामोड प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीपछि इलाका प्रहरी कार्यालय अनारमनीले कम्पनीका प्रतिनिधिहरुलाई बोलाएर सोधपुछ गरेको छ । ग्राहक र कम्पनीका प्रतिनिधिबीच हालसम्म छलफल भएको छैन । प्रहरीले कम्पनीको वैधतादेखि लक्की ड्र सञ्चालन गर्न पाउने, नपाउनेबारे खोजी सुरु गरेको हो ।
कम्पनीका प्रतिनिधिहरुले केहि कागजातहरु देखाए पनि अघोषित रुपमा सञ्चालन गरिएको चिठ्ठा सञ्चालन गर्न पाउने कागजात नदेखाएको बुझिएको छ । सन् २०१७ देखि सञ्चालनमा रहेको निलकण्ड नेपाल ट्रेड एण्ड सप्लायर्स प्रा.लि. बिर्तामोड (एनके प्यूरिफायर) ले बुधबार विर्तामोडमा फाइनल राउण्ड अर्थात २४ औं बम्बर योजनाका लागि लक्की ड्र सञ्चालन गरेको थियो ।
कम्पनीले लक्की ड्र सञ्चालनका लागि नियम तथा शर्त नं. ५ उल्लंघन गरेको ग्राहकहरुको आरोप थियो । ‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका थिए । ग्राहकहरुले आपत्ति जनाएपछि कार्यक्रमस्थलमा तनाव भएको थियो ।
सयौं ग्राहकहरुले बुधबार इलाका प्रहरी कार्यालय अनारमनी पुगेर कम्पनी सञ्चालकहरुलाई कारबाहीको माग राखेका छन् । कारबाहीको लागि निवेदन दिएसँगै बिहीवारबाट प्रहरीले कम्पनीको आधिकारिकतासँगै चिठ्ठा सम्बन्धी व्यवस्थाबारे अनुसन्धान थालेको छ ।
एनकेले व्यापारका नाममा चिठ्ठा खेलाइरहेको ग्राहकहरुको समेत आरोप छ । एनकेले फाइदाबाट ग्राहकलाई उपहार वितरण गर्ने योजनाअघि सारेर १० हजार नागरिकको लगानीमाथि खेलवाड गरेको बुझिएको छ । पानी फिल्टर गर्ने मेसिन (प्यूरिफायर) किस्तामा दिने नाममा घुमाउरो पारामा एनकेले चिठ्ठा खेलाइरहेको अधिकांशको प्रतिक्रिया छ । प्रहरीले एनकेले किस्तामा दिने प्यूरिफायर खरिदविक्री र त्यसको मूल्यको बारेमा समेत चासो व्यक्त गरिएको छ ।
बिहीवार पनि ग्राहकहरुले इलाका प्रहरी कार्यालउ पुगेर धाँदली गर्नेहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् । उनीहरुले नियम संगत रुपमा लक्की ड्र सञ्चालन गर्नुपर्ने, सञ्चालन गर्न नसके ९ हजार ९९९ ग्राहकको ३७ हजार ९४० रुपैयाँका दरले बुझाएको पैसा फिर्ता हुनुपर्ने माग अघि सारेका छन् । ग्राहकको माग बाहेक प्रहरीले कम्पनीको वैधतालाई मुख्य मुद्धा बनाएर अनुसन्धानलाई अघि बढाएको जनाएको छ ।
एनकेमा झापा, मोरङ र इलामका ९ हजार ९९९ जना ग्राहक बनेका छन् । उनीहरु एजेन्ट मार्फत गाउँगाउँबाट एनकेको चिठ्ठा योजनामा जोडिएका हुन् ।
एनकेको उपहार योजना कार्यक्रममा १ जना ग्राहकले १ किस्तामा १३५५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । १ जना ग्राहकले २८ किस्तामा ३७ हजार ९४० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ ।








प्रतिक्रिया