मुख्य समाचार

कमरेड ! एकपटक ति आमसर्वहारालाई सम्झनुहोस्

कमरेड ! एकपटक ति आमसर्वहारालाई सम्झनुहोस्


गगन ढकाल

मैले घर–गाउँ घुम्दा एमालेका नेतालाई सुम्सुमाउँदै खुसीको आसु झारेका बुढेउली आँखाहरू देखेको छु । चाउरिएका हातहरूले त्यो नेताको निम्ति प्रेम प्रवाह गरेको देखेर कायौं पटक भावविह्वल भएको छु । मैले यस्तो छोरो देखेको छु जसले आँगन पल्टिएको बाबुको पार्थिव शरीर उठाउने बेलामा अमुक नेतालाई खोजेको छ । उसले भनेको छ, “एकछिन पर्खिदा उहाँ आउनु हुन्छ कि ?” मैले ति छोरा बाबु वितेकोमा भन्दा बाबुलाई अन्तिम पटक ति नेता हेर्न नआएकोमा दुःखी भएको देखेको छु । पार्टीले लगेर दिएको समवेदना पनि तिनै नेताको हातबाट मात्र ग्रहण गर्ने प्रण गरेको कयौँ परिवार मैले देखेको छु । पार्टी कार्यक्रममा ओडाएको नाथे खदालाई मान्छेहरूले सन्दुकमा लुकाएको मैले पाएको छु । मैले त्यसता कथाहरू सुनेको छु । जसले पार्टीलाई सहयोग गर्न भाले र खसी पालेका थिए । दिनहुँ एक मुठी चामल पार्टीका निम्ति छुट्याएका थिए । आफ्ना बालबच्चालाई पस्किएको खाना ति नेता आउँदा बच्चाबाट खोसेर ऊ तिर सारिदिएको कथा मैले पटक–पटक सुनेको छु ।

म तपाईलाई तिनै कथाहरू मध्ये एक कथा सुनाउने छु । तेलपानी तिरका एकजना पुराना कम्युनिष्ट कार्यकर्ता हुनुहुन्छ । उहाँले मलाई २०३९ साल ताका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को मेची अञ्चल अधिवेशनको कथा सुनाउनु भएको छ । त्यो अधिवेशन उहाँकै घरमा भएको थियो । उहाँ एक किसान मान्छे वर्ष भरीको खेतिपातीले वर्ष दिन खान धौँ धौँ थियो । तर, उहाँले अधिवेशनमा आएमा आफ्ना कमरेडहरूलाई खानाको प्रवन्ध गर्नु भएको थियो । तपाईलाई गाह्रो भएन भनेर सोध्दा उहाँ भन्नुहुन्छ, “गाह्रो भन्दा पनि साथीहरूलाई अगाउजी खुवाउन सक्दिन कि भन्ने चिन्ता थियो । कसैले थाहा पाएर झोसपोल गरेर साथीहरूले साहदत प्राप्त गर्नुहोला कि भन्ने पीर थियो । अरु केही गाह्रो थिएन । मेरो घरमा अधिवेशन गरेकोमा म खुसी थिए । पार्टीले मलाई गरेको सानो विश्वास थिएन त्यो ।”
पार्टीका भूमिगत नेताहरूलाई घरमा लुकाउँदा उनीहरूलाई भित्रै दिसापिसाब गर्न लगाएर आफैले सोहोरेको वा बाहिर लगेर फ्याकेको उहाँसँग कथा छ । उहाँसँग जस्तै यस्तो कथा मैले धेरै जनाबाट सुनेको छु । मान्छेहरुले आफ्ना स्कूले छोराछोरीको ब्यागमा पार्टीको पर्ची बोकाएको यथेष्ट कथाहरू मैले सुनेको छु ।

नेतालाई बचाए बापत हजारौँले तत्कालीन सत्ताको निशानामा पर्नु परेको थियो । यातना खप्नु गरेको थियो । मान्छेहरू छोराछोरीको गाँस खोसेर, आफ्नो ज्यानको बाजी थापेर, सत्ताको यातना सहेर यो पार्टी बचाउन चाहन्थे । किनभने उनीहरूलाई विश्वास थियो – यिनै मान्छेले हाम्रो भविष्य बनाउँछन्, देश बनाउँछन् । जनताले यति धेरै माया मैले कम्युनिष्ट पार्टीबाहेन अन्य पार्टीका नेतालाई गरेको मैले देखेको छुइन । हुन त मैले अरुको बारेमा यसरी खोजी नगरेर पनि नदेखेको हुन सक्छु । मैले आमनागरिकले ति नेताहरूलाई गरेको प्रेम देखेर र कथाहरू सुनेर सयौँ पटक आफूलाई त्यो गर्विलो इतिहास बोकेको आन्दोलनमा समाहित गर्ने कसम खाएको छु । मैले हजारौँ पटक यो जुनी आमगरिब, किसान, भूमिहीन सुकुम्बासी र उत्पीडितहरूका निम्ति समर्पण गर्ने बाचा गरेको छु । सबै किसिमका विभेदहरूको अन्त्य गरी समतामुलक समाज निर्माण गर्ने भूमिका निर्वाह गर्ने अठोट गरेको छु । तर आज म विक्षिप्त छु ।

त्यो गर्विलो इतिहास बोकेको, आमनागरिकले सुम्सुमाएर बिराट स्वरुपमा पु¥याएको नेपाली कम्युनिष्ट आन्दोलनको अग्रणी पार्टी नेकपा एमाले फगत केही नेताको चाकाचुली मात्र बन्न पुगेको छ । केही नेताको आडम्बर, सत्ता स्वार्थ, पदको भागवण्डा र अराजनीतिक तिकडमहरूको पुञ्ज बनेको छ । प्रिय कमरेडहरू, समय अझै त सकिसकेको छैन, घाम डुब्न लागेको अन्तिम प्रहर त बाँकी नै छ । यो बबुरोलाई कृपा गरी सम्झिदिनुहोस्, ति सेल्टरदाताहरूलाई जसले आफ्नो ज्यानको बाजी थापेर तपाईलाई बचाएका थिए । तपाईको सुरक्षाका निम्ति तपाईको फोहोर सोरेका थिए । तपाईको फाटेको कपडामा टालो लगाउन बाख्रा पालेका थिए । गलेर आएको कमरेडलाई पेटभरी खाना खुवाउन दैनिक एक मुठी चामल छुट्याएका थिए । तपाईलाई स्वादिलो र पोषणयुक्त खाना दिन भाले पालेका थिए । कमरेड एकपटक ति आमसर्वहारालाई सम्झनुहोस्, जसले आफ्नो बच्चालाई पस्किएको खाना तपाई तिर सारेका थिए । जसले तपाईलाई जोगाए वापत यातना भोगेका थिए । ज्यान गुमाएका थिए । टुहुरो र विदुवा बनेका थिए । प्रिय कमरेड एकपटक ति आँखाहरू सम्झनुहोस्, जसले तपाईप्रति विशाल विश्वास र श्रद्धा गरेका थिए । तपाईलाई छुन पाउँदा, तपाईको कुरा सुन्न पाउँदा, तपाईलाई जिवित देख्दा हर्षका साथ आसु बगाउने ति आँखाहरू सम्झनुहोस् । र, उनीहरूको विश्वास, आशा र भरोसालाई सम्बोधन गर्नुहोस् ।

शेयर गर्नुहोस :

0
Shares