Banner news

बिर्तामोडमा जेईविरुद्धको खोप अभियान सुरु

बिर्तामोडमा जेईविरुद्धको खोप अभियान सुरु


बिर्तामोड । बिर्तामोड नगरपालिकामा आजबाट जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध खोप लगाउन सुरु गरिएको छ । नगर अस्पतालमा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई पहिलो खोप लगाउँदै अभियानको शुभारम्भ गरिएको हो । शुभारम्भमा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलासहित अन्य जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् ।

बिर्तामोडमा नगर क्षेत्रमा ६० हजारभन्दा बढी नागरिकलाई खोप दिइने भएको छ । असोज १५ गतेसम्म नगरपालिकाका १० वटै वडामा ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान सुरु गरिएको फोकल पर्सन जनस्वास्थ्य निरीक्षक गणेश रिजालले जानकारी दिए ।

खोप सञ्चालनका लागि नगरपालिकाले ५६ वटा खोप केन्द्र निर्धारण गरेर ३० जना स्वास्थ्यकर्मी खटाएको छ । स्वास्थ्यकर्मी, शिक्षक, स्वयंसेवक, नगरस्तरीय खोप समन्वय समिति र वडास्तरीय रूपमा अभिमुखीकरण कार्यक्रम सकेर खोप लगाउन थालिएको हो ।

खोप लगाउँदै नगर प्रमुख पवित्रा महतारा प्रसाईले तोकिएको अवधिमा पायक पर्ने स्थानमा गएर खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ । तोकिएका केन्द्रहरुमा अहिले खोप लगाउने कार्य सञ्चालन भइरहेको छ ।
गर्भवती तथा एलर्जीको समस्या भएका व्यक्तिहरूले यो खोप लगाउन नमिल्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख बृजकुमार दासले जानकारी दिए ।

झापामा असोज ५ गतेबाट खोप अभियान सुरु गरिएको हो । जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन हुँदैछ ।

शेयर गर्नुहोस :

189
Shares