बिर्तामोड । बिर्तामोडमा देखिएको अनियमित विद्युत कटौती र लामो समयदेखिको लोडसेडिङ तथा भोल्टेज उतारचढावको समस्याप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी बिर्तामोडले नेपाल विद्युत् प्राधिकरण, अनारमनी वितरण केन्द्रको गम्भीर ध्यानाकर्षण गराएको छ ।
आज विहान एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईको नेतृत्वमा पुगेको टोलीले केन्द्रका प्रमुख राजमणी बजगाईलाई ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

बिर्तामोड क्षेत्रमा बिना कुनै पूर्वसूचना दिनमा दर्जनौं पटक बत्ती जाने र आउने समस्याका कारण जनजीवन, व्यापार व्यवसाय र शान्ति सुरक्षामा समेत गम्भीर संकट उत्पन्न भएको पत्रमा उल्लेख छ ।
भोल्टेजमा हुने अत्यधिक उतारचढावले फ्रिज, टेलिभिजन, कम्प्युटर तथा खानेपानीका मोटरजस्ता विद्युतीय उपकरणहरू जलेर नष्ट भइरहेका छन् भने बिहान–बेलुकीको समयमा विद्युत् नहुँदा विद्यार्थीहरूको पठनपाठन र परीक्षाको तयारीमा समेत नराम्रो बाधा पुगेको जनाइएको छ । यसका साथै व्यवसायीहरूले जेनरेटर चलाउँदा इन्धनको अत्यधिक खर्च बढेको र प्राधिकरणमा फोन गर्दा समेत फोन नउठ्ने गुनासो बढेको बताइएको छ ।
आम उपभोक्ताबाट नियमित रूपमा महसुल संकलन गरिरहेको प्राधिकरणले यस्तो गैरजिम्मेवार र गुणस्तरहीन सेवा दिनु उपभोक्ताको अधिकारको हनन् भएको ठहर गर्दै, प्राविधिक समस्या वा मर्मत सम्भार गर्नुपर्ने भए त्यसको पूर्वसूचना दिनुपर्ने नियमको स्मरण गराइएको अध्यक्ष भट्टराईले बताए । उनले यथाशीघ्र बिर्तामोड क्षेत्रको विद्युत् आपूर्तिलाई नियमित, व्यवस्थित र भरपर्दो बनाउन नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रसँग आग्रह गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै केन्द्र प्रमुख बजगाईले विधुत अनियमित हुँदा उपभोक्ताका घरमा सामानहरुमा क्षति पुगेको विषय गम्भीर भएको बताए । उनले विधुत अनियमित हुने विषय अनारमनी केन्द्रसँग मात्र सम्बन्धित नरहेको र संरचनागत समस्या समेत रहेको अवगत गराए । पुराना संरचनाहरुका कारण पनि विधुत अनियमित हुने उनको भनाई थियो । प्रमुख बजगाईले उपभोक्तालाई क्षति नहुने तर्फ कार्यालयको तर्फबाट आवश्यक प्रयासहरु जारी राख्ने बताएका छन् ।
ध्यानाकर्षणपत्र बुझाउन अध्यक्ष भट्टराईसहित पार्टीका जिल्ला तथा नगरका नेताहरुको सहभागिता रहेको थियो ।








प्रतिक्रिया