प्रदीप परियार
बिर्तामोड । एनके प्यूरिफायरका लागि गाउँगाउँमा ग्राहक बनाउने एजेन्टहरुमाथि दबाब बढ्न थालेको छ । कम्पनीले फाइनल लक्की ड्रमा धाँदली गरेको घटना बाहिर आएसँगै ग्राहकहरुले एजेन्टहरुलाई आफ्नो लगानी फिर्ता गर्न दबाब दिन थालेका हुन् ।
इलाममा एजेन्टका रुपमा काम गरेका प्रकाश तामाङले ग्राहकहरुले ग्राहकहरुबाट दबाब आउन थालेको बताए । उनले घटना बाहिर आएपछि ग्राहकहरुले आफ्नो लगानी फिर्ताको माग गर्दै दबाब दिन स्वभाविक भएको बताएका छन् । उनी राजन चाम्लिङ मार्फत जोडिएका हुन् । उनले ग्राहकहरुबाट उठाएको पैसा कम्पनीमा बुझाएकोले कम्पनी नै मुख्य जिम्मेवार हुने बताउँछन् ।

मसँग मैले बनाएका ग्राहकहरु नियमित सम्पर्कमा हुनुहुन्छ, उनले भने – म पनि कम्पनीसँग सम्पर्कमा छु । कम्पनीले ग्राहकहरुको लगानी सुरक्षित गर्नुपर्ने उनको धारणा छ । जे सम्झौता गरेर ग्राहक बनाइएको थियो, त्यसै अनुसार लक्की ड्र सञ्चालन गरेको थियो भने समस्या हुने थिएन, उनी थप्छन् – फेरि पनि कम्पनीले सम्झौता अनुसार उपहार वितरण गरेर समस्याको समाधान गर्नुपर्छ । घरघरमा शुद्ध पानी खुवाउने अभियान अन्तर्गत एनकेले किस्तावन्दीमा प्यूरिफायर दिने भएपछि आफू पनि जोडिएको उनको भनाई छ । २७ महिनासम्म सिस्टममै लक्की ड्र सञ्चालन गरेर उपहार वितरण गरेपनि अन्तिममा समस्या आएको तामाङले बताए ।
अर्का, एजेन्ट किशोर तामाङले १२१ जनालाई ग्राहक बनाएका छन् । ग्राहक बनाए वापत कम्पनीले मासिक १ सदस्य बराबर २५० रुपैयाँ दिने गरेको थियो । अहिले कम्पनीमाथि धाँदलीको आरोप लागेपछि ग्राहकहरुले नियमित रुपमा चासो व्यक्त गरिरहेको जानकारी दिए । हामीले कम्पनीलाई पैसा बुझाएका छौं, केहि समस्या भएमा कम्पनीले सबै ग्राहकको पैसा फिर्ता गर्नुपर्ने उनको धारणा छ । तामाङले भने, कम्पनीको नियम अनुसार लक्की ड्र सञ्चालन गर्नुपर्ने थियो । सायद कम्पनीले पनि गलत नियत राखेको थिएन । तर, समस्याका रुपमा बाहिर आएको छ ।
गाउँगाउँमा ग्राहकबाट लगानी सुरक्षाका लागि दबाब बढिरहेको बेला उनले तत्काल निचोड निकाल्न कम्पनीलाई आग्रह समेत गरेका छन् । तत्कालै समाधानका लागि आग्रह गर्छु, उनी भन्छन् – कम्पनीको वास्तविकता के हो ? सत्यतथ्य बाहिर ल्याएर ग्राहकको लगानी सुरक्षा हुनुपर्छ ।
उनले २८ महिनासम्म सरकारी निकायबाट कम्पनीबारे किन केहि सोधीखोजी नभएको भन्दै प्रश्न गरेका छन् । पक्कै गलत नभएर नै अहिलेसम्म सञ्चालन भएको होला । जेहोस्, वास्तविकता छिट्टै बाहिर आओस् ।
कम्पनीले हरेक महिना लक्की ड्र सञ्चालन गरेर उपहार वितरण गर्दै आएको थियो । हरेक ग्राहकलाई १ थान प्यूरिफायर दिने कम्पनीको नियममा उल्लेख छ । २४ औं स्किमको सेकेण्ड स्टेजमा प्यूरिफायर वितरण नगरी अघि बढेपछि ग्राहकहरुले आपत्ति जनाएका थिए । प्यूरिफायर वितरण नगरी कम्पनी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका हुन् । उनीहरुले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको दावी गर्दै आएका छन् । ‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका हुन् ।
एनकेको उपहार योजना कार्यक्रममा १ जना ग्राहकले १ किस्तामा १३५५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ । १ जना ग्राहकले २८ किस्तामा ३७ हजार ९४० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ ।








प्रतिक्रिया