मुख्य समाचार

कोशीमा मनसुन प्रतिकार्य कमाण्ड पोस्ट सक्रिय

कोशीमा मनसुन प्रतिकार्य कमाण्ड पोस्ट सक्रिय


विराटनगर – कोशी प्रदेशमा विपद् व्यवस्थापनसम्बन्धी सूचना संकलन, विश्लेषण र समन्वयका लागि मनसुन प्रतिकार्य कमाण्ड पोस्ट सक्रिय गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख निर्मल भट्टराईको अध्यक्षतामा बसेको कमाण्ड पोस्टको बैठकले असोज ९ गतेदेखि असोज १२ गतेसम्म सम्भावित वर्षा तथा विपद्का घटनालाई मध्यनजर गर्दै सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो।

बैठकले प्रदेशका विभिन्न निकायबाट विपद्सम्बन्धी सूचना नियमित रूपमा संकलन, विश्लेषण तथा आदान–प्रदान गर्ने र सम्बन्धित निकायलाई आवश्यक जानकारी तथा रिपोर्टिङ गर्ने निर्णय गरेको छ।

त्यस्तै, जिल्ला तथा पालिका तहमा समेत नियमित रूपमा विपद्सम्बन्धी सूचना संकलन, विश्लेषण, समन्वय तथा रिपोर्टिङ गर्न सम्बन्धित निकायलाई कमाण्ड पोस्ट निर्माण तथा सञ्चालनका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।
बैठकले कमाण्ड पोस्टलाई पूर्ण रूपमा सक्रिय राख्ने, सूचना आदान–प्रदान गर्ने तथा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाई नियमित जानकारी गराउने निर्णयसमेत गरेको छ।

बैठकमा नेपाली सेना पूर्वी पृतना हेडक्वार्टर इटहरीका प्रमुख सेनानी रविन थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईं, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगु, सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र खनाल तथा मन्त्रालयका शाखा अधिकृत सदानन्द भट्टराई सहभागी हुनुहुन्थ्यो।

शेयर गर्नुहोस :

135
Shares