रोहित काफ्ले
भद्रपुर – अन्तर्राष्ट्रिजगतमा निकै लोकप्रिय रहेको तर नेपालमा ओझेलमा परेको हक्की खेललाई उजागर गर्दै प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुरमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको हक्की प्रतियोगिता हुने भएको छ ।
आयोजक भद्रपुर नगर हक्की संघले प्रतियोगिताको तयारी पनि सुरु गरिसकेको बुझिएको छ । प्रतियोगिताको तयारीस्वरुप नै संघले आज भद्रपुर–९ पुहाँतुबारीस्थित पुहाँतु जनज्योति माविमा सर्वपक्षीय बृहत भेला आयोजना गर्यो । भेलामा प्रतियोगिता सफल बनाउन गर्न सकिने क्रियाकलाप र योजनाहरुका सम्बन्धमा बृत छलफल भएको थियो ।
संघका अध्यक्ष सरोज वस्नेतको अध्यक्षतामा झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष, युवा समाजसेवी, खेलप्रेमी राजकुमार राई तथा विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमु सागर मिश्रसमेतको उपस्थितिमा आयोजित भेलाले प्रतियोगितालक्षित विभिन्न उपसमिति गठन गरेको छ ।

हक्कीका झापाली खेलाडीहरुको पनि उल्लेख्य सहभागिता रहेको भेलाले संघका अध्यक्ष वस्नेतकै संयोजकत्वमा ३१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ भने अनिल ढुंगानाको संयोजकत्वमा सल्लाहकार समिति, संघका उपाध्यष पदम निरौलाको संयोजकत्वमा आर्थिक उपसमिति, दिपक खतिवडाको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति, पुष्कर अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, रविन सुनुवारको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमिति, रोहित काफ्लेको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, खगेन्द्र ढुंगानाको संयोजकत्वमा आवास तथा खाद्य व्यवस्थापन उपसमिति र दिपेन्द्र कटुवालको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरेको छ । जिम्मेवारी र आवश्यकता अनुसार उपसमिति थप गर्दै लगिने पनि भेलाले निर्णय गरेकोे छ ।
हक्कीको राष्ट्रिय टोलीमा पनि समावेश भएका खेलाडीहरु रहेको भद्रपुर ९ नं वडाकै पुहाँतु जनज्योति माविको पश्चिमपट्टि रहेको खेल मैदानमा आगामी कात्तिक १३ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने गरी तयारी अघि बढाइएको हक्की संघका कोशी प्रदेश सदस्य खगेन्द्र ढुंगानाले जानकारी दिए । भारतका तीन, बंगलादेशको एक, विभागीयसमेत नेपालका सात टिम र आयोजक एक टिम गरी १२ टिमको सहभागितामा फाइभ–एस मोडलमा प्रतियोगिता आयोजना हुने संघका अध्यक्ष वस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमलाई नगद एक लाखसहित शील्ड तथा मेडल प्रदान गरिने संघले जनाएको छ ।
बढ्दो लागुऔषधको दुव्र्यसनबाट युवाहरुलाई जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यसमेत जोडिएको यो प्रतियोगिताले हक्की खेलप्रति आमदर्शक खेलकुदप्रेमीहरुको ध्यान आकर्षित भई हक्की प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास पनि लिइएको अध्यक्ष वस्नेतको भनाइ छ ।
प्रतियोगिताका लागि प्रस्तावना तयार गरी विभिन्न सरकारी–गैरसरकारी निकाय तथा औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरुलाई वितरण गरिँदै आएको र ती क्षेत्रबाट सकारात्मक प्रतिक्रिया पनि पाइएको संघले जनाएको छ ।
भेलामा आफनो भनाइ राख्दै झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राईले यो प्रतियोगिता हक्की खेलको प्रवद्र्धनका लागि कोशेढुगा बन्नसक्ने विश्वास व्यक्त गरे । उनले आफू सबैखाले खेलकुदप्रति रुची राख्ने भएकोले आफ्नो तर्फबाट प्रतियोगिताका लागि सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । उनले प्रतियोगिताको दोस्रो पुरस्कारको रकम आफूले सहयोग गर्ने पनि घोषणा गरे ।
प्रतियोगिताका लागि संघले मैदान मर्मत–संभारको काम पनि सुरु गरिसकेको छ ।








प्रतिक्रिया