Banner news

‘आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो’: डा. कोइराला

‘आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो’: डा. कोइराला


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली काँग्रेसको आगामी १५औँ महाधिवेशन आफूहरूको परीक्षाको घडी भएको बताएका छन् ।

महाराजगञ्ज–चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. कोइरालाले भने, “यो हाम्रा लागि परीक्षाको समय पनि हो, यो अधिवेशनलाई त्यसैले हामीले अत्यन्त महत्त्वपूर्ण रूपमा लिएका छौँ र हामी सबै मिलेर सँगै अघि बढौँ भन्ने पनि चाहेका छौँ ।”

यही असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा इतर समूहले पत्रकार सम्मेलन गरी संस्थापन पक्षीय महाधिवेशनमा सहभागी नभई काँग्रेसकै नाममा अलग्गै महाधिवेशनमा जाने बताएको हो । काँग्रेस पार्टीका पूर्व सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेतासमेत सो समूहमा आबद्ध छन् ।

पार्टीको मंसिरमा हुने १५औँ महाधिवेशनमा आफूहरू नयाँ जोश र जाँगरका साथ जान लागेको बताउँदै संयोजक डा. कोइरालाले भने, “हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौँ, हामी के चाहन्छौँ भने सबै साथै हिडौँ । सबै सँगै हिडौँ ।”

उनले नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक र बलियो विचार भएको पार्टी हो भने । प्रजातान्त्रिक आन्दोलनको पक्षमा सदैव उभिँदै आएको पुरानो पार्टीका रूपमा स्थापित काँग्रेस अब नयाँ सोच र जोशका साथ अघि बढ्ने उनले स्पष्ट गरे । संयोजक डा. कोइरालाले महाधिवेशनलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए ।

शेयर गर्नुहोस :

0
Shares