सञ्जय मिश्रा
रौतहट ११ असोज। भारतको हिमाचल प्रदेशस्थित कांगडा जिल्लाको करिब ४०० वर्ष पुरानो श्री चामुण्डा नन्दीकेश्वर धामको भव्य पुनर्निर्माण तथा सौन्दर्यीकरण भइरहेको छ।
मन्दिरको सौन्दर्यीकरणका लागि पञ्जाबका एक गुमनाम दाताले देवी चामुण्डाको सिंहासनका लागि ३ किलो सुन र गर्भगृह सजावटका लागि ६ क्विन्टल चाँदी दान गर्ने निर्णय गरेका छन्। दाताले आफ्नो परिचय सार्वजनिक नगर्न मन्दिर व्यवस्थापनसँग आग्रह गरेका छन्।

मन्दिरका अधिकारी राकेश कुमारका अनुसार यसअघि मन्दिरमा २.८५ क्विन्टल चाँदी मौज्दात थियो। नयाँ दानबाट प्राप्त ६ क्विन्टलसहित कुल ८.८५ क्विन्टल चाँदी गर्भगृहको सजावटमा प्रयोग गरिनेछ।
गर्भगृहमा भियतनामको मार्बल
मन्दिरको गर्भगृहमा भियतनामबाट ल्याइएको मार्बल प्रयोग गरिँदैछ भने अन्य भागमा राजस्थानको प्रसिद्ध मकराना मार्बल प्रयोग भइरहेको छ। मन्दिरमा मार्बल जडानको काम तीव्र गतिमा भइरहेको र यस वर्षको अन्त्यसम्म काम पूरा गर्ने लक्ष्य राखिएको छ।
बन्नेर खड्डको किनारमा रहेको चामुण्डा मन्दिरमा भारत तथा विदेशबाट हरेक वर्ष ठूलो संख्यामा श्रद्धालु पुग्ने गर्छन्। मन्दिर परिसरमा रहेको नन्दीकेश्वर मन्दिरको सौन्दर्यीकरणको काम भने पूरा भइसकेको छ। त्यहाँ गुफाजस्तो संरचनाभित्र स्वयं प्रकट भएको मानिने शिवलिंग रहेको छ, जसलाई माथिबाट झुन्डिएको ठूलो ढुंगाले ढाकेको छ।
मन्दिरका अधिकारीका अनुसार यज्ञशालाको निर्माणसमेत सम्पन्न भइसकेको छ। परिसरका अन्य निर्माण तथा सौन्दर्यीकरणका काम पनि विभिन्न दाताको सहयोगमा भइरहेका छन्। तीमध्ये कतिपय दाताले आफ्नो पहिचान गोप्य राख्न आग्रह गरेका छन्।
चण्ड र मुण्डको वधसँग जोडिएको धार्मिक मान्यता
चामुण्डा मन्दिर देवी दुर्गाको उग्र स्वरूप चामुण्डालाई समर्पित छ। धार्मिक मान्यताअनुसार देवीले चण्ड र मुण्ड नामका राक्षसको वध गरेपछि उनलाई ‘चामुण्डा’ नाम दिइएको हो। मन्दिरसँग जोडिएको अर्को धार्मिक कथाअनुसार स्थानीय राजा र एक पुजारीले देवीसँग दुर्गम पहाडी क्षेत्रबाट सहजै पुग्न सकिने स्थानमा आफ्नो पवित्र स्थान सारिदिन प्रार्थना गरेका थिए। त्यसपछि देवी पुजारीको सपनामा आएर बन्नेर नदी किनारमा उत्खनन गर्न निर्देशन दिएको जनविश्वास छ।
उत्खननका क्रममा प्राचीन ढुंगाको मूर्ति भेटिएको बताइन्छ। सुरुमा सामान्य ढुंगा ठानेर धेरै पुरुषले उठाउन खोज्दा नसकेको र भोलिपल्ट पुजारीले स्नान गरी सम्मानपूर्वक छोएपछि सहजै उठाएर हालको स्थानमा स्थापना गरेको धार्मिक कथा प्रचलित छ।
नयाँ विवाह गरेका जोडीले पनि परम्पराअनुसार यस मन्दिरमा पुगेर पूजा गर्ने गर्छन्। देवीको मुख्य मन्दिरसँगै स्वयं प्रकट भएको मानिने शिवलिंग रहेकाले यस धामलाई ‘चामुण्डा नन्दीकेश्वर धाम’का रूपमा चिनिन्छ।








प्रतिक्रिया