काठमाडौं, १२ असोज । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरू आज बस्दै छन्।
सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित आधा दर्जन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संसद् सचिवालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछन्।

यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ पेस गर्नेछिन्।
आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित विधेयकहरू पनि सभासमक्ष पेस गरिनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग’को आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।








प्रतिक्रिया