Banner news

चोलेन्द्रलाई थ्रेट दिने को हुन् ? – महर

चोलेन्द्रलाई थ्रेट दिने को हुन् ? – महर


काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले विना कसुर र विना अभियोग पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि नहुने बताए। कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानूनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ।’

सरकार गठन भएयता शृङ्खलाबद्ध रूपमा यस्ता गतिविधि भइरहेको आरोप लगाए। पूर्वप्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको घटनाको स्मरण गरे।

उनले खतरा दिने व्यक्तिलाई सुरक्षा दिने तर खतरा रहेको भनिएका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने सरकारी कदमप्रति आपत्ति जनाए। जबराको पक्राउको कदमलाई लिएर सरकार राज्य आतङ्क, गुन्डागर्दी तथा निरङ्कुशता र स्वेच्छाचारिताको नमुना देखिएको बताए।

उनले भने, ‘एउटा व्यक्तित्वलाई हुर्मत लिएर पक्राउ गर्ने काम गर्‍यो, यो सरकारले राज्य आतङ्क सिर्जना गरेको छ। गुन्डागर्दी गरेको छ। र यो एक प्रकारको निरङ्कुशता र स्वेच्छाचारिताको नमुना प्रस्तुत गरेको छ। म यसको भर्त्सना गर्न चाहन्छु। जुन जेनजीको काँधमा टेकेर सरकारको नेतृत्व गरिरहेको छ। आज ती जेनजीहरूलाई बदनाम गर्ने, सुरक्षा थ्रेट दिने को हुन् ? त्यो भन्न पर्‍यो र त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्नु पर्‍यो।’

शेयर गर्नुहोस :

0
Shares