शिवसताक्षी । अखिल नेपाल महिला संघ (अनेमसंघ) शिवसताक्षी नगर कमिटीको अध्यक्षमा निर्मला प्रसाईं सर्वसम्मत चयन भएकी छन् । शिवसताक्षी–शिवगञ्जमा आइतबार सम्पन्न अनेमसंघको चौथो नगर सम्मेलनले प्रसाईंको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा सपना बस्नेत (लिम्बाङ), सचिवमा संगिता कोइराला, उपसचिवमा दिलकुमारी बस्नेत र कोषाध्यक्षमा सुजनता भुषाल चयन भएका छन् । अन्य सदस्यहरू समेत सर्वसम्मत चयन गरिएको अध्यक्ष मण्डलले जनाएको छ ।

नगर सम्मेलनका अवसरमा अनेमसंघ शिवसताक्षीले नगरको भूगोलमा रहेर लामो समयदेखि महिला आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका स्थानीयतह तथा जिल्ला कमिटीका विभिन्न जिम्मेवारीमा रहेर योगदान पु¥याएका १४ जना महिलालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नरमाया कार्की, भरत इन्दिरा बस्नेत, भेजकुमारी नेपाल, गीता खरेल, निर्मला न्यौपाने, जानुका, सावित्रा खनाल, मिना चापागाईं, जुनु मोहोरा, यशोदा विमली, नर्वदा दाहाल, सीता नेपाल, डम्बरकुमारी रिजाल र मनमाया तिवारी रहेका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि अनेमसंघ केन्द्रीय कमिटी उपाध्यक्ष मेनुका काफ्लेले नवनिर्वाचित नगर कमिटीले महिला आन्दोलनलाई थप सशक्त बनाउँदै संगठनलाई एकताबद्ध र प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताइन् । उनले आगामी स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गर्दै युवा, महिला तथा समाजका सबै वर्ग र समुदायलाई समेटेर संगठनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज चन्द्रकुमार शेर्मालगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै महिला सहभागिता र नेतृत्व विकासमा अनेमसंघको भूमिकामाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा अनेमसंघका विभिन्न तहका नेता तथा कार्यकर्ता, पार्टीका स्थानीय नेता, महिला अधिकारकर्मी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन चन्द्रकला सापकोटाले गरेकी थिइन् ।








प्रतिक्रिया