अर्जुनधारा

शनिश्चरेमा बजार अनुगमन, म्याद नाघेको खाद्य वस्तु नष्ट

शनिश्चरेमा बजार अनुगमन, म्याद नाघेको खाद्य वस्तु नष्ट


बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामग्रीहरू जफत गरी नष्ट गरिएको छ ।

सोमवार सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालय, झापाका प्रतिनिधिहरू सहितको संयुक्त टोलीले बजार निरीक्षण गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम गरिएको सो अनुगमनका क्रममा विभिन्न पसलहरूबाट कैफियत भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको हो । संयुक्त अनुगमन टोलीले द फेमिली स्टोर्सबाट ८२३ बराबरको म्याद नाघेको खाद्य वस्तु जफत गरी नष्ट गरेको छ भने मंगरु मिष्ठान्न भण्डारबाट प्रयोगशाला परीक्षणका लागि १ थान नमुना संकलन गरेको छ ।

यसैगरी श्री लक्ष्मी स्टोरलाई खाद्य र अखाद्य वस्तुहरू छुट्टाछुट्टै राख्न निर्देशन दिइएको छ भने गुराँस स्टोर्सबाट रु. ५५० बराबरको म्याद नाघेको विष्कुट जफत गरी नष्ट गरिएको छ । सुधा फलफूल स्टोरबाट रु. ४०० को म्याद नाघेको पेय पदार्थ, जलेश्वरवाली जेनरल स्टोर्सबाट रु. ५८०० को म्याद नाघेको तथा लेभल नभएको खाद्य वस्तु र काजल किराना पसलबाट रु. ६५० को नौनी र आइसक्र्याण्डी जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
आम नागरिकको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै बजार अनुगमन तथा नियमनकारी कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिइने सरोकारवाला निकायले बताएका छन् ।

शेयर गर्नुहोस :

108
Shares