खेल

बिर्तामोडमा इन्डो नेपाल तेक्वान्दो भव्य रुपमा सम्पन्न, सुनसरी च्याम्पियन

बिर्तामोडमा इन्डो नेपाल तेक्वान्दो भव्य रुपमा सम्पन्न, सुनसरी च्याम्पियन


बिर्तामोड । नेपाल तथा भारतका खेलाडीहरूको उत्साहजनक सहभागितामा इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिप – २०८३ भव्य तथा सफलताका साथ सम्पन्न भएको छ । झापाको बिर्तामोडमा सञ्चालित प्रतियोगितामा विभिन्न उमेर तथा तौल समूहका कुल ८७५ जना खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।

बालबालिकादेखि वरिष्ठ खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा पुरुष र महिलातर्फ क्रमशः २०-२० तौल समूह समावेश गरिएका थिए । बालबालिकाको १८ केजीदेखि वरिष्ठ डिभिजनको ६८ केजीसम्मका तौल समूहका साथै व्यक्तिगत तथा जोडी विधा समेटिएको १० वटा पुम्से विधामा प्रतिस्पर्धा गराइएको थियो । यसले विभिन्न उमेर, क्षमता र विधाका खेलाडीहरूलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा सीप प्रदर्शन गर्ने अवसर जुराएको छ ।

प्रतियोगिताको रोमाञ्चक प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै टिम सुनसरी प्रथम स्थान हासिल गर्न सफल भयो । यसैगरी खुदुनाबारी द्वितीय र काठमाडौं तृतीय स्थान प्राप्त गर्न सफल भए । विजेता टिमहरूलाई आकर्षक ट्रफीसहित प्रथम पुरस्कार बापत रु. ५०,०००, द्वितीय पुरस्कार बापत रु. ३०,००० र तृतीय पुरस्कार बापत रु. २०,००० नगद पुरस्कार प्रदान गरिएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल ताइक्वान्डो संघका अध्यक्ष दीपराज गुरुङ, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ तथा उपप्रमुख खड्गमाया पराजुली, बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई तथा उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र खेलकुद समिति बिर्तामोडका अध्यक्ष विकास गिरी, अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमाल लगायतको सहभागिता रहेको थियो ।

लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउन आयोजित प्रतियोगिताले नेपाल र भारतबीचको खेलकुद सम्बन्धलाई समेत थप प्रगाढ बनाउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको फिट स्टुडियो, मेची तेक्वान्दो डोजाङका सञ्चालक, कार्यक्रमका संयोजक दिपेन धिमालले जानकारी दिए ।

प्रतियोगिता असोज ७ गतेदेखि ९ गतेसम्म बिर्तामोडस्थित बाल्मिकी स्कुलमा सञ्चालन गरिएको थियो ।

शेयर गर्नुहोस :

1.5k
Shares