मुख्य समाचार

पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ: अध्यक्ष ओली

पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ: अध्यक्ष ओली


काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठामा रहन जोड् दिनुभएको छ ।

अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देह सकिएको औंल्याउँदै भन्नुभयो- ‘अब पार्टीभित्र बढ्दो अराजकता र अनुशासनहीनता चल्दैन । केन्द्रीय कमिटीको बैठकलाई हामीले ‘कट-अफ डेट’ मानेका छौँ । अब पार्टीको नीति र अनुशासन विपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई रमाउने गरी बोल्ने जोकोहीमाथि कडा कारबाही हुनेछ।’

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्हरुलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘लोकतन्त्रको पुनर्वहाली’ र ‘आगामी बैशाखमा हुने स्थानीय निर्वाचनको तयारी’ पार्टीको मुख्य गन्तव्य भएको स्पष्ट पार्नुभयो ।

‘दुई कार्यबार कतिखेर कुनमा फोकस हुने कुरा पार्टीले निर्धारण गर्छ । निर्वाचनमा फोकस हुन्छौं र जित्छौं । जनसंगठनहरु डिफङ्स छन् । अब रिअर्गानाइज हुन्छ’, उहाँले भन्नुभयो– ‘पुनर्गठन भनेर अध्यक्ष हटाउने हो भनियो । यो अपराधपूर्ण क्रियाकलाप हो । केन्द्रीय कमिटीअघिका यि सबै क्षमा भयो । तर अब क्षमा हुँदैन । हामी कुनै प्रतिनिधि परिषद् बैठकतिर लाग्दैनौं । यो चुनावको तयारीको बेला हो । कोराकोर, हानहान गर्ने होइन ।’

उहाँले नेता-कार्यकर्ताहरूलाई अर्जुन दृष्टि जस्तै एउटै लक्ष्यमा केन्द्रित हुन र ब्रुसलीको एकाग्रता जस्तै सम्पूर्ण तागत संगठन निर्माणमा लगाउन निर्देशन दिनुभयो । देशलाई जबरजस्ती पछाडि फर्काउने, संवैधानिक प्रक्रिया मिच्ने र मुलुकमा विध्वंश तथा आतंक मच्याउने प्रयास गरिरहेकाले यसलाई रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उहाँले जोड् दिनु भयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले मुलुकको आर्थिक, राजनीतिक र सांस्कृतिक अवस्थालाई पछाडि धकेल्ने योजनाबद्ध षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । गत वर्ष भदौ २३ र २४ गते भएका घटना, राष्ट्रिय सम्पत्ति र सिंहदरबार लगायतका संरचना, व्यक्तिको घरमाथि भएको आगजनी तथा उत्पन्न गराइएको आतंकप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो- ‘गैरसंवैधानिक कदमहरूका कारण देश संकटमा परेको छ । तर, एमालेले देशलाई पुनः लोकतान्त्रिक विधि र संवैधानिक ट्र्याकमा ल्याउन तथा संविधानको रक्षा गर्न दृढतापूर्वक नेतृत्व लिनेछ ।’

फागुनको निर्वाचनमा भोग्नुपरेको क्षति बाह्य आक्रमण, योजनाबद्ध विध्वंश र पार्टीभित्रको आन्तरिक कमजोरीका कारण भएको उल्लेख गर्दै अध्यक्ष ओलीले अबका दिनमा सामूहिक स्वार्थलाई अघि बढाउनु पर्नेमा जोड् दिनुभयो । उहाँले तथ्य, तर्क र प्रमाणका आधारमा विरोधीहरूले फैलाएका भ्रमहरू चिर्न डिजिटल क्याम्पेन (प्रविधिमैत्री प्रचार) सञ्चालन गरिने बताउनुभयो ।

अन्य कुनै दलसँग पार्टी एकताको चर्चा, समयको बर्बादी मात्र हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो- ‘अन्य शक्तिहरूसँग चुनावी तालमेल वा विषयगत कार्यगत एकता हुन सक्छ, तर अनावश्यक झमेलामा फस्ने गरी पार्टी एकताको चर्चा उपयुक्त छैन ।’
अध्यक्ष ओलीले राजधानी वा सुविधाभोगी ठाउँमा बसेर जिल्ला वा कार्यक्षेत्रको जिम्मेवारी पूरा हुन नसक्ने भन्दै नेताहरूलाई ‘टुरिस्ट’ जस्तै नघुम्न र कार्यक्षेत्रमै खटिएर कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।

‘अब नेता-कार्यकर्ताको मूल्याङ्कन जेष्ठताका आधारमा होइन, काम र श्रेष्ठताका आधारमा हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो- ‘आफूलाई बदल्नुहोस्, शालिनता र विनम्रता सिक्नुहोस् । देश बनाउने स्पष्ट खाका र नीति एमालेसँग मात्रै छ, त्यसैले आत्मबलका साथ जनतामाझ पुगेर भरोसा जगाउनुहोस् ।’

उहाँले केन्द्रीय कमिटीले गरेको डिजिटल अभिलेख र संगठन सुदृढीकरणको काम यसै महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालयबाट सञ्चालित सम्बोधन कार्यक्रममा उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, रघुजी पन्त, महासचिव शंकर पोखरेल, सचिवहरू पद्मा अर्याल, शेरधन राई, भानुभक्त ढकाल, डा. राजन भट्टराई लगायतका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो । भर्चुअल कार्यक्रमको सञ्चालन महासचिव पोखरेलले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

81
Shares