बिर्तामोड । झापाको दमक नगरपालिका वडा नं. ६ स्थित देवकोटा चोकबाट ५ सय दरको भारतीय नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बुधबार शंका लागेर BR32j2708 नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको किसनगंज जिल्ला, खनियाबाद वडा नं. ३, फतेपुर बस्ने २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमलाई नियन्त्रणमा लिएको हो । उनीहरूको खानतलासी गर्दा अब्दुल माजिदको साथबाट ५ सय रुपैयाँ दरका ७० थान गरी जम्मा ३५ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो ।
बरामद गरिएका अधिकांश नोटहरूको नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशङ्कामा चेकजाँचका लागि नेपाल राष्ट्र बैङ्क, विराटनगर पठाइएको थियो । परीक्षणका क्रममा ती सबै नोटहरू नक्कली रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नक्कली नोटसहित पक्राउ परेका दुवै जनामाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया