बिर्तामोड । पहाडकी रानीको रुपमा परिचित इलामको सुर्योदय नगरपालिकास्थित कन्याममा चिया पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘कन्याम वृक्षालय’ सञ्चालनमा आएको छ । कन्याम वृक्षालयको बारेमा बिहीवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
कोशी प्रदेश सरकार र सुर्योदय नगरपालिकाको लागत साझेदारीमा २०८० सालमा निर्माण सम्पन्न भएको ‘चिया परीक्षण प्रवद्र्धन तथा अनुसंधान केन्द्र’ को भवन संरक्षणको अभावमा जीर्ण बन्दै गएपछि यसको सदुपयोग गरिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्रमार्फत २०८१ असार १८ गतेदेखि १० वर्षका लागि श्री उत्तम प्रगति निर्माण सेवाले यो संरचना भाडामा लिएर स्तरीय होटल तथा वृक्षालय सञ्चालनमा ल्याएको हो । सम्झौतामा प्राप्त ५ वटा भवनबाहेक थप संरचना निर्माण गर्न करिब २ करोड रुपैयाँ खर्च गरिएको छ ।

विश्व पर्यटन बजारमा लामो अनुभव संगालेर स्वदेश फर्किएका ४० वर्षभन्दा कम उमेरका चार जना युवाहरूको सामूहिक लगानी र व्यवस्थापनमा सञ्चालित यस वृक्षालयले होटल सञ्चालन मात्र नभई कन्यामलाई अनुभव गर्ने गन्तव्य र कोशी प्रदेशकै नमुना आतिथ्यता केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । उत्तम कुमार श्रेष्ठ, राजु ढकाल,सन्तोष कुँवर र तेजेन्द्र शर्माले कन्याम वृक्षालय सञ्चालनमा ल्याएका हुन् ।
चियालाई पेय पदार्थका रूपमा मात्र सीमित नराखी चिया बगान, उत्पादन, किसानको मेहनत र स्वादलाई पर्यटकको अनुभवसँग जोड्दै ‘चिया पर्यटन’ प्रवद्र्धन गर्ने प्रयास गरिएको छ । यस होटेलले अमेरिका र युरोपियन देशका साथै भारतको बिहार, बंगाल, भुटान, बंगलादेश र म्यानमारबाट पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । साथै, स्थानीय होमस्टे र अन्य पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी गराउँदै पर्यटकको बसाइ इलाममै कम्तीमा ४ रात ५ दिनसम्म लम्ब्याउने र यसैमार्फत दिगो पर्यटनको अवधारणा अघि बढाइएको छ ।
वृक्षालयमा हाल २५ जना स्थानीय युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् । यस संस्थाले काठमाडौं, चितवन, लमजुङ र बाँकेसहित नेपालका चारवटा प्रदेशमा ६ वर्षदेखि शाखा सञ्चालन गर्दै आएको छ भने आगामी दिनमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने योजना बनाएको छ । रैथाने खानपान, मौलिक स्वादको प्रवद्र्धन र न्यानो नेपाली आतिथ्यताको स्तरोन्नति गर्नु वृक्षालयको प्रमुख प्रतिबद्धता रहेको छ । यसैगरी, यसै भवनमा चिया परीक्षण प्रवद्र्धन तथा अनुसंधान केन्द्र र चिया संग्रहालयसमेत सञ्चालनमा रहेका छन् जसको स्वामित्व र व्यवस्थापन कोशी प्रदेश सरकार र सुर्योदय नगरपालिकाको जिम्मामा रहेको छ ।
पर्यटन प्रवद्र्धनका लागि ‘सरसफाई, सत्कार र स्वाद’ लाई तीनवटा मूल मन्त्र मानेको वृक्षालयले कन्यामलाई घुम्ने ठाउँभन्दा पनि गहिरो अनुभव गर्ने गन्तव्य बनाउने अङ्गीकार गरेको छ । यस अभियानमा स्थानीय सरकार, समुदाय, व्यवसायी र सञ्चार माध्यमहरूको निरन्तर साथ र सहकार्यको अपेक्षा गरिएको वृक्षालयका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया