बिर्तामोड । एनके प्यूरिफायरले ‘लक्की ड्र’ मा धाँदली गरेको आरोप लगाउँदै ग्राहकहरुले जिल्ला प्रशासन कार्यालय झापामा निवेदन दिएपछि निरन्तर छलफल चलिरहेको छ । ग्राहकहरुले नियम बमोजिम लक्की ड्र सञ्चालन गर्नुपर्ने वा पैसा फिर्ता दिनुपर्ने माग गरेर निवेदन दिएका थिए ।
एनकेको लक्की ड्रमा विवाद भएपछि ग्राहकहरुले प्रशासनमा छलफलका लागि ७ सदस्यीय प्रतिनिधि तोकेका छन् । प्रतिनिधिमध्येका एक कुमार रसाइलीले समाधानका लागि प्रशासनमा पटक–पटक छलफल भइरहेको जानकारी दिए । बुधबार भएको छलफलमा एनकेका सञ्चालकहरुबाट असोज २५ गते निमय बमोजिम लक्की ड्र सञ्चालन गर्ने आश्वासन पाएको रसाईलीको भनाई छ । उनका अनुसार ग्राहकहरुले नियम बमोजिम लक्की ड्र सञ्चालन गरे सहमति जनाउन तयार रहेका छन् । तर, प्रशासनले के आधारमा लक्की ड्र सञ्चालन गर्ने भन्ने बारे आवश्यक कागजातहरु माग गरेको छ । कुन विधि र प्रक्रियाबाट लक्की ड्र सञ्चालन गरिन्छ ? त्यसका लागि प्राप्त इजाजतसहित प्रशासनमा सञ्चालकहरुलाई हाजिर हुन भनिएको ग्राहकहरुका प्रतिनिधि रसाईलीले जानकारी दिए ।

प्रशासनले हालसम्म वितरण गरिएको उपहार, वितरण गर्न बाँकी उपहारको समेत विवरण पेश भनेको छ । लक्की ड्र सञ्चालन नै अवैधानिक भएको भन्दै प्रश्न उठिरहेको बेला सञ्चालकहरुले सामान विक्री वापतको उपहार भनेका छन् । घुमाउरो हिसावमा लक्की ड्र नै भए पनि उनीहरुले ग्राहकलाई विक्री गरिने प्यूरिफायर वापतको उपहार दिने भन्दै आएका छन् ।
एनकेले प्यूरिफायरको व्यापारका नाममा ग्राहकसँग किस्तावन्दीमा ३७ हजार ९ सय ४० रुपैयाँ उठाउँदै आएको छ । मासिक १३५५ रुपैयाँका दरले प्यूरिफायरका लागि किस्ता उठाउने एनकेले १३ हजार बराबरको फिल्टर दिदैं आएको कतिपयको गुनासो छ ।
२४ औं स्किमको सेकेण्ड स्टेजमा प्यूरिफायर वितरण नगरी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका थिए । प्यूरिफायर वितरण नगरी कम्पनी अघि बढेपछि ग्राहकहरुले धाँदलीको आरोप लगाएका हुन् । उनीहरुले नियम तथा शर्त नं. ५ उल्लंघन गरेको आरोपमा प्रशासनमा कारबाहीका लागि निवेदन दिएका हुन् ।
‘दोस्रो चरणमा कुनै पनि सामग्री नपरी खाली हात भई आएका ११ जना ग्राहकहरुमध्ये १० जनालाई पुस्तिका तालिकामा उल्लेख भएको मोटरसाईकल तथा स्कुटरहरु गोलाप्रथाद्वारा प्रदान गरिनेछ । साथै अन्तिममा बचेको केही नपर्ने १ जना सबैभन्दा भाग्यमानी ग्राहकले स्तवः कार प्राप्त गर्नुहुनेछ ’ भन्ने शर्त उल्लंघन गरेर अर्को चरणमा प्रवेश गरेपछि ग्राहकहरुले आपत्ति जनाएका हुन् ।
१ जना ग्राहकले २८ किस्तामा ३७ हजार ९४० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीले २८ किस्तामा ग्राहकहरुबाट जम्मा ३७ करोड ९३ लाख ६२ हजार ६० रुपैयाँ संकलन गर्ने गरेको छ ।
एनके प्रकरण बाहिर आएपछि ग्राहकहरुले एजेन्टहरुलाई पैसा फिर्ताको लागि दबाब बढाएका छन् । एजेन्टले प्रति ग्राहक मासिक २५० रुपैयाँ कमिशन पाउने गरेको बुझिएको छ ।








प्रतिक्रिया