Banner news

सहाराको निर्वाचन : संस्थागतहित पहिलो प्राथमिकता

सहाराको निर्वाचन : संस्थागतहित पहिलो प्राथमिकता


प्रदीप परियार

नेपालकै ठुलो सहकारी सहारा नेपालमा नयाँ नेतृत्व चयन भएको छ । सदस्यहरुले निर्वाचन मार्फत सञ्चालक समितिको नेतृत्व चयन गरेका छन् । सहकारी क्षेत्रमै अब्बल रुपमा स्थापित सहाराको नेतृत्व चयनमा सबैको चासो र चिन्ता थियो । गएको शनिवार ६ जिल्लामा निर्वाचन सम्पन्न भयो । सोही दिन रातीबाटै मतगणना गरेर आइतवार विहान नतिजा नै सार्वजनिक भयो । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को १ नं. सदस्य रहेका छविलाल खतिवडा सहाराको अध्यक्षमा निर्वाचित भए । धेरैजसो सर्वसम्मत विधिबाट नेतृत्व चयन गर्ने सहारामा निर्वाचन गर्नुपर्ने परिस्थिति बन्यो । सदस्यहरुले निर्वाचनबाट नेतृत्व चयन गरिदिए । सर्वसम्मतिबाटै नेतृत्व चयन गरेको थियो भने पनि सदस्यहरुका लागि समस्याको विषय थिएन । तर, नेतृत्वमा तीब्र इच्छा भएका व्यक्तिहरुले निर्वाचनमै जाने वातावरण तयार गरे । ३ वटा प्यानल बनाएर उम्मेदवार चुनावी मैदानमा गए । सबै प्यानलमा सहारामा लामो समय काम गरेकै व्यक्तिहरुले उम्मेदवारी दिए ।

उम्मेदवार बन्नेहरु सबै निर्वाचित हुन सक्दैनन् । त्यो स्वयम् उम्मेदवारहरुलाई पनि थाहा थियो । निर्वाचनको परिणाम आयो, सदस्यहरुले मत दिएका उम्मेदवारहरु निर्वाचित भए । ‘ मेरो सहारा, मेरो गौरव’ को नारालाई सार्थक बनाउने जिम्मेवारी नयाँ नेतृत्वको काँधमा आएको छ । नेपालकै नम्बर वान सहकारीको साखलाई थप बलियो बनाउने र सदस्यमैत्री कार्यक्रम बनाएर अघि बढ्ने दायित्व नयाँ नेतृत्वले पाएको छ । संस्थागतहित र सदस्यमैत्री कार्यक्रम मार्फत सहारालाई अघि बढाइरहने हो भने सहारा अझै मजवुद भएर जानेमा दुई मत छैन ।
हरेक क्षेत्रमा निर्वाचन सम्पन्न भएपछि केहि समय तिक्तता हुनु स्वभाविक हो । सबै उम्मेदवारहरु निर्वाचित हुन पनि सकिदैन । तर, उम्मेद्वारहरुले परिणामलाई स्वीकार गर्न सक्नुपर्छ । विजयी भएकाहरुले मतदाताको भावना सम्मान गरेर अघि बढ्नुपर्छ भने पराजितहरुले विजयीहरुलाई सहयोग गरेर संस्थालाई थप बलियो बनाउनुपर्छ । त्यसो भएमा मात्रै एकताको सन्देश पनि जान सक्छ ।

राजनीतिक दल वा संसदीय निर्वाचनमा परिणाम आइसकेपछि विभिन्न प्रश्नहरु उठ्ने गर्छन् । संसदीय निर्वाचनमा प्रहरी, कर्मचारीहरुले यसो गरे तेसो भन्ने आरोप लाग्छ । हरेक चुनाव गर्ने तत्कालिन सत्तारुढ दललाई धाँदलीको पनि आरोप लाग्छ । त्यस्तै आरोपहरु संस्थागत निर्वाचनहरुमा पनि लाग्न सक्छ । यो निर्वाचनपछिको नियमित प्रक्रिया जस्तै हो । चुनावमा परिणाम हात परेन भने विभिन्न आरोपहरु लगाउने, परिणाम अस्वीकार गर्ने परिघटनाहरु नेपाली समाजमा सामान्य चरणहरु नै हुन् ।

निर्वाचनमा जाने, परिणाम साचेजस्तो आउन सकेन भने अस्वीकार गर्ने र आरोपहरु लगाउने यहाँ स्वभाविक जस्तै भएको छ । सहाराको निर्वाचन बिर्तामोड आसपासमा संसदीय निर्वाचन जस्तै भीडभाड थियो । कतिपयले संसदीय निर्वाचनको झल्को आएको पनि बताए । घण्टौंसम्म लाइन बसेर पनि सहारामा मत खसाल्ने सदस्यहरु थिए । बिर्तामोड बजार क्षेत्र र आसपासमा सदस्यहरुको उपस्थिति बाक्लो थियो । गाउँतिर, त्यति धेरै भीडभाड थिएन । आफु सदस्य रहेको संस्थामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्न पाउँदा सदस्यहरु पनि उत्साहित नै थिए । उनीहरुको मतलाई सम्मान गर्नु सबै उम्मेदवारहरुको जिम्मेवारी हो ।

सहारामा अहिले निर्वाचनको सन्दर्भलाई लिएर विभिन्न विषयहरु बाहिर आइरहेका छन् । त्यसमध्ये धेरै चर्चा हुने भनेको कर्मचारीहरुले सहयोग गरे भन्ने हो । स्वभाविक रुपमा निर्वाचनमा कर्मचारीहरु सहयोगी नै हुन्छन् । कर्मचारीहरुको असहयोगले निर्वाचन सफल पनि हुन सक्दैन । पराजित उम्मेदवारहरुले कर्मचारीबाट सहयोग नभएको भन्ने पनि गुनासो छ । जोसुकै पराजित भए पनि लगाउने आरोप यहि नै हो । सबै कर्मचारीहरुले यदि सहयोग नै गरे भने पनि सबै उम्मेदवारलाई गरेको हुनुपर्छ । किनभने, कर्मचारीहरुका लागि सबै उम्मेदवार बराबरी हुन् । तर, मतदाताको आफ्नो स्वविवेकलाई त अस्वीकार गर्न मिल्दैन होला नि । यो परिणाम मतदाताको विवेकको परिणाम हो । यसमा कसैले कसैलाई पनि कसैलाई दोषारोपण गर्न मिल्दैन । सामान्यतः निर्वाचनमा सहभागी भएपछि जीतहारलाई सहजै स्वीकार गर्नुपर्छ । स्वीकार गर्न नसक्नेहरु निर्वाचनमा सहभागी पनि बन्न हुदैन । यसअघि भएको निर्वाचनमा छविलाल खतिवडा पनि पराजित भएको घटना छ । पराजित हुनेहरुले विजयी हुनका लागि थप मेहनत गर्नैपर्छ । त्यो उदाहरण, हालका निर्वाचित अध्यक्ष खतिवडा पनि हुनुहुन्छ ।

संस्थाको हित कसले गर्न सक्छ भन्ने कुरा सदस्यसँगै कर्मचारीहरुलाई पनि थाहा हुन्छ । त्यसैले अहिलेको आवश्यकतामा सहानुभूति हुनु स्वभाविक छ । यसको अर्ध कर्मचारीहरुले नै भोट खसालेको भन्न मिल्दैन । जहाँसम्म चिट वितरणको कुरा छ, त्यो आवश्यक हो । सदस्यहरुलाई मत खसाल्न गाह्रो नै थियो । संसदीय निर्वाचनमा त मतदाताले चिट लिएर जान्छन् भने सहाराको निर्वाचनमा जाँदा के हुन्छ ? यो अति सामान्य विषय हो । मतदातालाई प्रायः सबै उम्मेदवारहरुले समूहगत र व्यक्तिगत रुपमा चिट वितरण गरेकै थिए । सबै उम्मेदवारहरुले मत मागेकै थिए । यसलाई हाउगुजी बनाउनु बच्पना मात्र हो ।

तमाम कर्मचारीहरुलाई सहाराको थप उन्नयन गर्नुछ । सबै उम्मेदवारहरुको जीत त संभव नै थिएन । किनभने, आवश्यक संख्याभन्दा तेब्बर उम्मेवार थिए । यसैले अब, परिणामलाई लिएर दायाँबायाँ गर्नु कसैका लागि हितकर छैन । बरु, संस्थालाई कसरी अघि बढाउने भन्नेमा रचनात्मक सहयोग गर्न सकिन्छ ।

सबैको जीतका लागि एउटै बाटो थियो, सर्वसम्मत नेतृत्व चयन । त्यो प्रयास गर्न नसक्ने, परिणाम सोचेजस्तो नआएपछि विभिन्न आरोप लगाउने । यो गलत छ । यस्तो प्रवृत्ति भएको व्यक्तिहरु उम्मेदवार नै बन्न हुदैन । त्यस प्रकारको प्रवृत्ति भएको उम्मेदवारले जितेको खण्डमा संस्थागत हित पनि हुन सक्दैन । जसले परिणाम स्वीकार गर्नुभयो, उहाँहरु संस्थाको हितमा नै हुनुहुन्छ । जसले स्वीकार गर्न सक्नु भएन, उहाँहरु संस्थाको हितभन्दा अलि पर हुनुहुन्छ । ठुलो संस्थामा सबैलाई नेतृत्व गरौं भन्ने चाहना पनि हुन्छ । ठुलो कारोवार हुन थालेपछि जताततै नेतृत्व गर्नेहरुको संख्या बढ्छ । यो सबैको चाहना पूरा हुन सक्दैन । संस्थालाई साच्चै अप्ठ्यारो भयो भने काँध हाल्नेको संख्या अति न्यून हुन्छ । त्यसैले संस्था र सदस्यको हितमा सोचौं ।

सहकारी संस्थाहरु अहिले जटिल परिस्थितिमा गुज्रिरहेका छन् । सानो होस् या ठुलो सबैलाई आफ्नो आकार अनुसारको जटिलता छ । यस्तो जटिल समयमा करोडौं रुपैयाँ खर्च गरेर निर्वाचन गर्नु ठिक होइन । त्यो पनि सदस्यहरुकै पैसा हो । उम्मेदवारहरुले यता तर्फ ध्यान दिनुभयो कि नाई ?

यसैले सहारालाई आफ्नै गतिमा अघि बढ्न दिनुपर्छ । निर्वाचन परिणामलाई आधार बनाएर गिजोल्नु हुदैन । त्यसले संस्थाभित्रको एकतालाई कमजोर बनाउन सक्छ । संस्था कमजोर भएको फाइदा अरु कसैले उठाउन सक्छन् । यसैले परिणाम जे जस्तो आएपनि एउटा निर्वाचन प्रक्रिया पूरा भइसकेको छ । यसलाई स्वीकार गरेर जानु सबैका लागि बुद्धिमानी हुनेछ । जसले जिते पनि संस्थाको सदस्यले जितेको छ । जितेका सदस्यहरुले संस्थागत हितलाई प्राथमिकतामा राखेर जानुपर्छ । सकेसम्म सदस्यहरुलाई थप सुविधाको व्यवस्था गर्न गर्नुहोस् । संस्थालाई अझै बलियो बनाउनुहोस् ।

शेयर गर्नुहोस :

3.6k
Shares