बिर्तामोड । झापाको पुरानो शैक्षिक संस्था कनकाई आदर्श क्याम्पस बिर्तामोडको क्याम्पस प्रमुखमा केशवप्रसाद रेग्मी नियुक्त हुनुभएको छ । आज उहाँलाई नियुक्ती गरेसँगै १८ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका सुरेश चापागाईले विदा लिनुभएको छ । चापागाई अब क्याम्पसको वरिष्ठ प्राध्यापकको रुपमा कार्यरत रहनुहुनेछ ।
कनकाईको नवनियुक्त प्रमुख रेग्मी यसअघि गरानमी क्याम्पसको प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले कनकाई आदर्श क्याम्पसमा प्राध्यापन गर्नुभएको पनि १८ वर्ष भइसकेको छ । क्याम्पस प्रमुखसँगै सहायक क्याम्पस प्रमुखमा सोही क्याम्पसका पूर्वविद्यार्थी प्रेम रेग्मीलाई नियुक्त गरिएको छ । क्याम्पस प्रमुख मेची बहुमुखी क्याम्पसका पूर्व विद्यार्थी हुनुहुन्छ ।

लामो समय कनकाई आदर्श क्याम्पसको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका चापागाईले नयाँ क्याम्पस प्रमुखमा जुझारु र योग्य व्यक्ति नियुक्ति गरिएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार कनकाई थप रुपान्तरित हुँदै अघि बढ्ने छ ।
माओवादी द्वन्द्वकालमा क्याम्पसको जिम्मेवारी सम्हाल्नुभएका चापागाईले पूर्वमा कनकाईले शिक्षामा सबै हिसावबाट नेतृत्व गर्न सफल भएको बताउनुभयो । त्यो बेला विद्यार्थीको संख्या असाध्यै कम भएको थियो, अहिले विद्यार्थीको संख्या पर्याप्त छ, उहाँले भन्नुभयो – तर, विद्यार्थीलाई स्वदेशमै रोक्न सक्ने अवस्था छैन । स्नातक तहको पहिलो वर्ष भर्ना भएका विद्यार्थीहरु चौथो वर्ष पुग्दा घटेर न्यून हुने गरेको छ । कोरिया, जापान र यूरोपिय देशहरुमा अवसर खोज्दै विद्यार्थीहरु बिचमै पढाई छोडेर जाने गरेका छन् । चापागाईले अबका दिनमा विद्यार्थीहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी हुने र समय सापेक्ष कार्यक्रम आवश्यक रहेको बताउनुभयो । यो समस्या स्थानीय स्तरमा मात्र नभएर देशकै समस्या भएको उहाँको भनाई छ ।

अभिभावक र विद्यार्थीको विश्वास जितेर नै १८ वर्ष जिम्मेवारी सम्हाल्न पाएकोमा उहाँले खुशी व्यक्त गर्नुभएको छ । क्याम्पसमा पढाई पूरा गरेका विद्यार्थीहरु बैंकिङ तथा वित्तीय क्षेत्र र संसदसम्म देख्न पाउँदा असाध्यै गर्व लाग्ने उहाँले सुनाउनुभयो । राजनीतिक क्षेत्रमा समेत पूर्वविद्यार्थीहरु नेतृत्वदायी भूमिकामा पुगेको भन्दै उहाँले वर्षौसम्मको योगदानले आनन्द प्राप्त हुने प्रतिक्रिया दिनुभएको छ ।
स्नातकोत्तरसम्म पठनपाठन हुने क्याम्पसमा अहिले छात्रभन्दा छात्राहरुको संख्या धेरै हुने गरेको छ । विगतमा छात्रको संख्या धेरै हुन्थ्यो, उहाँले भन्नुभयो – वैदेशिक रोजगारीका कारण छात्रहरु विदेश पलायन भए । क्याम्पसमा छात्राहरुको संख्या राम्रो छ । उहाँले थप्नुभयो – पहिलेका विद्यार्थीहरु साह्रै धेरै मेहनत गर्थे ।
नवनियुक्त क्याम्पस प्रमुख र सहायक प्रमुखलाई कनकाईका संस्थापक जयनारायण ढुङगानाले कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको छ ।
नवनियुक्त प्रमुख रेग्मीले क्याम्पसलाई अझै उचाइ हासिल गराउनका निम्ति सबैसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।








प्रतिक्रिया