भद्रपुर । सरकारले ‘जेन–जी आन्दोलन’का शहीद परिवार तथा घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न अघि सारेको एकीकृत प्याकेजअन्तर्गत झापामा शहीद परिवार तथा घाइतेहरूको प्रोफाइल तयार गर्न थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा शहीद परिवार दुई जना र हालसम्म सम्पर्कमा आएका घाइते ६० जना रहेको उल्लेख छ। त्यसमध्ये ३७ जना घाइते परिचय पत्र लिइसकेका छन् । तीमध्ये स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट घाइतेको अवस्थाअनुसार २८ जनाको वर्गीकरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य उपचार, निःशुल्क शिक्षा, रोजगारीलगायतका एकीकृत राहत प्याकेजलाई शहीद परिवार तथा घाइतेहरूको वास्तविक माग र आवश्यकतासँग जोड्न प्रोफाइल तयार गर्न लागिएको हो ।
अनलाइन फाराममार्फत तयार गरिने प्रोफाइलमा शहीद परिवार तथा घाइतेहरूको व्यक्तिगत विवरण, घटनासम्बन्धी विवरण, आर्थिक तथा सामाजिक अवस्था र सरकारसँगको अपेक्षालगायतका विषय समेटिने कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित शहीद परिवार तथा घाइतेहरूलाई आफ्नो विवरण अद्यावधिक गर्न अनुरोधसमेत गरेको छ । प्रोफाइल तयार भएपछि शहीद परिवार तथा घाइतेहरूको अवस्था र अपेक्षालाई सरकारले अघि सारेको एकीकृत राहत प्याकेजसँग प्रत्यक्ष रूपमा जोड्न तथा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कार्यालयको विश्वास छ ।
प्रोफाइल तयार गर्ने कार्यका लागि आवश्यक समन्वय र सहजीकरण गर्न हालसम्म सम्पर्कमा नआएका जेन–जी आन्दोलनका घाइतेहरूलाई समेत यथाशीघ्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।








प्रतिक्रिया