झापा- पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडले मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालमा कार्यरत सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्याउने कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ।
झापाको बिर्तामोड–५ स्थित मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको मातृ संस्थाका रूपमा रहेको सहकारीको बिर्तामोडमा सम्पन्न १४औँ वार्षिक साधारण सभाका अवसरमा अस्पतालका कर्मचारीहरूलाई पुरस्कृत गरिएको हो।

साधारण सभामा संस्थाको विभिन्न विभागमा रहेर जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको हो।
पुरस्कृत हुनेहरूमा लेखा अधिकृत दिपा बास्कोटा, ल्याब टेक्निसियन लक्ष्मी घिमिरे, गाइने वार्डकी अनमी सुभला चौहान र आइसियुकी सिनियर स्टाफ नर्स निशा ढकाल रहेका छन्।
त्यस्तै, पेडियाट्रिक वार्डकी स्टाफ नर्स हिना यादव, सर्जिकल वार्डकी स्टाफ नर्स रिना पाहिम, अर्थो वार्डकी स्टाफ नर्स यमुना बसुमतारी मेचे, कार्यालय सहयोगी ओमप्रसाद रेग्मी, सवारी चालक उमेश रिजाल, सुरक्षा गार्ड भीमबहादुर सुनुवार र सरसफाईकर्मी लक्ष्मण मगर पनि पुरस्कृत भएका छन्।
संस्थाले पुरस्कृत सबै कर्मचारीलाई बधाई दिँदै आगामी दिनको सफलताको शुभकामना व्यक्त गरेको छ।
सहकारीका अध्यक्ष नरेश खरेलको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको सञ्चालन सदस्य सचिव रोमनी भट्टराईले गरेका थिए।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने उपस्थित शेयर सदस्य, अतिथि तथा शुभेच्छुकहरूप्रति संस्थाले आभार प्रकट गरेको छ।
यसैबीच, साधारण सभाले मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पतालको नयाँ भवन तथा मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजको छात्रावास निर्माण गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ।
साधारण सभाबाट प्रस्ताव पारित भएसँगै दुवै पूर्वाधार निर्माणका लागि बाटो खुलेको सहकारीका कोषाध्यक्ष बुद्धिराम भट्टराईले जानकारी दिए।








प्रतिक्रिया