Banner news

बिर्तामोडमा चिनो सेलप्रति व्यवसायीको आपत्ति, संस्थापक बजगाईं असन्तुष्ट

बिर्तामोडमा चिनो सेलप्रति व्यवसायीको आपत्ति, संस्थापक बजगाईं असन्तुष्ट


बिर्तामोड । दसैँको मुख्य व्यापारिक सिजनमा बिर्तामोडमा सुरु गरिएको ‘चिनो वेयरहाउस सेल’ बन्द गर्न स्थानीय व्यवसायीले दबाब दिएपछि चिनोका संस्थापक नवराज बजगाईंले असन्तुष्टि जनाएका छन् । स्थानीय बजारमा सहकार्यका लागि आएको दाबी गरिरहेको चिनोले व्यवसायीबाट अपेक्षित सहयोग नपाएको भन्दै बजगाईंले सार्वजनिकरूपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

चिनोले शनिबारदेखि बिर्तामोड सिटी सेन्टरमा चारदिने ‘वेयरहाउस सेल’ सुरु गरेको थियो । सेलमा कम्पनीकै फ्याक्ट्रीमा उत्पादित कपडा छुट मूल्यमा बिक्री गर्ने तयारी थियो । तर, दसैँ, तिहार र छठजस्ता मुख्य व्यापारिक सिजनमा बाहिर दर्ता भएको व्यवसायले अस्थायीरूपमा ठूलो छुटमा सामान बिक्री गर्दा स्थानीय व्यवसाय प्रभावित हुने भन्दै बिर्तामोडका व्यवसायीले विरोध जनाएका थिए ।

स्थानीय व्यवसायीको आपत्तिपछि बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा संघको कार्यालयमा सेल सञ्चालक, चिनो व्यवस्थापन र स्थानीय व्यवसायीबिच शनिवार दिउँसो छलफलसमेत भएको थियो । छलफलपछि स्थानीय व्यवसायीलाई असर गर्ने गरी सञ्चालन गरिएको सेल बन्द गर्ने निर्णय भएको संघले जनाएको थियो ।

तर, चिनोका संस्थापक बजगाईंले आफूहरू स्थानीय व्यवसायीसँग प्रतिस्पर्धा गर्न नभई झापाको बजार परीक्षणका लागि आएको बताएका छन् । झापामा बजार विस्तारको सम्भावना बुझ्न चारदिने कार्यक्रमलाई ‘प्रि–रिसर्च’ तथा ‘वार्मअप एक्टिभिटी’ का रूपमा सञ्चालन गरिएको उनको भनाइ छ ।

’झापाले वेलकम गर्ला भन्ने थियो । वाणिज्य संघले पनि रेस्पेक्ट गर्ला भन्ने आशा राखेका थियौँ’, बजगाईंले भने, ‘तर व्यवसाय क्षेत्रका साथीहरूले जुन किसिमको असन्तुष्टि व्यक्त गर्नुभयो, त्यो चित्तबुझ्दो देखिएन ।’

उनका अनुसार झापा आउनुअघि स्थानीय व्यवसायीसँग सहकार्य गर्ने उद्देश्यले करिब २ हजार व्यवसायीलाई पत्राचार गरिएको थियो । स्थानीय व्यवसायीलाई समेत सहभागी गराएर अघि बढ्ने तयारी भए पनि अपेक्षाअनुसार सहकार्य हुन नसकेको उनले बताए ।

बजगाईंले आफू कुनै विवाद सिर्जना गरेर बजारमा नआएको स्पष्ट गर्दै सेल बन्द गर्नुपर्ने भए त्यसका लागि स्पष्ट मापदण्ड र लिखित सूचना आवश्यक रहेको बताए । वाणिज्य संघले मापदण्ड तोकेर लिखितरूपमा जानकारी दिए आफू त्यसलाई पालना गरेर सेल बन्द गरी फर्किन तयार रहेको उनको भनाइ छ ।

‘म कुनै फ्रड गरेर हिँड्ने पक्षमा छैन । संघले क्राइटेरिया तोकेर लिखित नोटिस दिनुपर्छ । त्यो नोटिस जेएनजी कम्युनिटीमा टाँसेर सेल बन्द गरेर हिँड्छु’, उनले भने ।

बजगाईंले सेलबाट ठूलो रकम बाहिरिने जस्तो गरी चर्चा गरिएकोप्रति पनि असन्तुष्टि जनाए । ‘एक अर्ब रुपैयाँ पैसा लैजान्छ जस्तो गरी साथीहरूले चर्चा परिचर्चा सुरु गर्नुभयो’, उनले भने । चिनो व्यवस्थापनका अनुसार कम्पनीले सेल सञ्चालन गर्नुअघि जिल्ला प्रशासन कार्यालय, वडा र नगरपालिकासँग आवश्यक अनुमति लिएको थियो । अहिले कम्पनीले बजार परीक्षणका क्रममा सीमित नमुना तथा केही थान कपडा ल्याएर उपभोक्ताको प्रतिक्रिया बुझिरहेको जनाएको छ ।
चिनोले हाल देशभर ११ वटा आउटलेट र तीनवटा होलसेल सञ्चालन गर्दै आएको जनाएको छ । झापामा कपडाको ठूलो कारोबार हुने भएकाले बजारको सम्भावना अध्ययन गर्न बिर्तामोडलाई रोजिएको कम्पनीको भनाइ छ ।

बजगाईंका अनुसार झापामा वार्षिक करिब २० देखि २२ अर्ब रुपैयाँ बराबरको कपडाको कारोबार हुने अनुमान छ । त्यसमा दसैँको समयमा मात्रै करिब २५ प्रतिशत कारोबार हुने उनको दाबी छ । यही बजार सम्भावनालाई बुझ्न चिनोले बिर्तामोडमा ‘वेयरहाउस सेल’मार्फत बजार परीक्षण गर्न खोजेको हो ।

यसअघि स्थानीय व्यवसायीले भने दसैँको मुख्य व्यापारिक समयमा बाहिरबाट आउने व्यवसायीले छुटका नाममा अस्थायी बिक्री केन्द्र सञ्चालन गर्दा नियमित पसल सञ्चालन गर्दै आएका व्यवसायीको व्यापार प्रभावित हुने बताएका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले स्थानीय व्यवसायीले वर्षभरि पसल सञ्चालन, रोजगारी र करको दायित्व बहन गरिरहेका बेला मुख्य सिजनमा बाहिरबाट आएर छुटमा बिक्री गर्नु स्थानीय व्यवसायका लागि चुनौतीपूर्ण हुने बताएका थिए ।

स्थानीय व्यवसायीले सेलबाट आफ्नो नियमित व्यापार प्रभावित हुने भन्दै स्थानीय सरकार र प्रशासनको ध्यानाकर्षण गराएका थिए । त्यसपछि संघले चिनो व्यवस्थापन र व्यवसायीबिच छलफल गराएर सेल बन्द गर्ने निर्णयतर्फ अघि बढाएको हो ।

यता, बजगाईंले भने बजारमा आउने क्रममा आफूहरूले स्थानीय व्यवसायीसँग सहकार्य गर्न खोजेको तर त्यसको सट्टा सेल नै बन्द गर्नुपर्ने अवस्था आएकोप्रति प्रश्न उठाएका छन् । ‘पब्लिकलाई मैले जे कुरा नोटिस गरेको छु, म कसैसँग विवाद गर्दिनँ’, उनले भने ।

यो घटनाले दसैँको व्यापारिक सिजनमा स्थानीय व्यवसाय संरक्षण र नयाँ ब्रान्डलाई बजार प्रवेशको अवसरबिच बहसलाई सतहमा ल्याएको छ । एकातिर नियमित व्यवसाय गर्दै आएका व्यापारीले समान व्यावसायिक वातावरणको माग गरेका छन् भने अर्कोतर्फ चिनो व्यवस्थापनले बजार परीक्षणलाई नै रोक्ने गरी दबाब दिइएको भन्दै असन्तुष्टि जनाएको छ ।

शेयर गर्नुहोस :

135
Shares