भद्रपुर । झापाको भद्रपुरमा कोशी प्रदेश आमन्त्रित नगरपालिकास्तरीय अन्तरपालिका तेस्रो रात्रिकालीन भलिबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । प्रतियोगिता असोज २२ देखि २५ गतेसम्म भद्रपुर नगरपालिका–५ स्थित भद्रपुर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगिताबारे आयोजकले शनिवार भद्रपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । भद्रपुर युवा समूहका अध्यक्ष भरत यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिका–५ का कार्यवाहक वडा अध्यक्ष जेष्ठमल ठाकुर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रसङ्ग चियाका प्रोपाइटर प्रदीप बराल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
प्रतियोगितामा १८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । कोशी प्रदेशका विभिन्न नगरपालिकाबाट आमन्त्रित टोलीसँगै विभागीय टोली नेपाल पुलिस विराटनगरले समेत प्रतियोगितामा सहभागिता जनाउनेछ ।
प्रतियोगिताको विजेता टोलीले रु. १ लाख १ हजार र उपविजेता टोलीले रु. ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु. ५ हजार १०० नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न विधातर्फ थप छ वटा पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
रात्रिकालीन रूपमा सञ्चालन हुने प्रतियोगिताले भद्रपुरमा खेलकुद गतिविधि बढाउनुका साथै स्थानीय तथा प्रदेशस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिता सञ्चालनका लागि खेलमैदान, लाईट व्यवस्थापनलगायत आवश्यक तयारी भइरहेको जानकारी दिइएको थियो ।








प्रतिक्रिया