मुख्य समाचार

नेपालबाट बाहिरिन थाल्यो मनसुन

नेपालबाट बाहिरिन थाल्यो मनसुन


बिर्तामोड । यस वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन सुरु भएको हो ।

विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आजदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थालेको हो । उनका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभागबाट मनसुन पूर्ण रूपमा बाहिरिएको छ । यस्तै, लुम्बिनी प्रदेशका पश्चिमी अधिकांश भूभाग र गण्डकी प्रदेशको पश्चिमतर्फका केही भूभागबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ।देशका अन्य भूभागमा पनि मनसुन कमजोर हुँदै गएको मौसमविद् अधिकारीले बताए । मनसुन बाहिरिँदैमा वर्षा पूर्ण रूपमा रोकिने भने नभएको उनको भनाइ छ ।

‘मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षाका गतिविधि हुन सक्छन्,’ अधिकारीले भने।विभागका अनुसार आगामी २४ घण्टामा देशका कुनै पनि भूभागमा भारी वर्षाको सम्भावना छैन । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

त्यस्तै, कोशी र मधेश प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । यतिबेला धान भित्र्याउने समय भएकाले हल्का वर्षाले पनि कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने मौसमविद् अधिकारीले बताए । त्यसैले किसानले मौसमको अद्यावधिक जानकारी लिएर मात्रै धान भित्र्याउनेलगायतका कृषि कार्य गर्न उनले सुझाव दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares