सिर्जना परियार
कटुसे । इलाम सूर्योदय नगरपालिका–१४ लक्ष्मीपुरस्थित कटुसे बजार पुन : शुरु भएको छ । एक वर्षपछि शनिवारे बजार पूर्ण रूपमा सञ्चालनमा आएको हो । २०५२ सालदेखि हरेक शनिबार लाग्दै आएको कटुसे बजार एक वर्षदेखि बन्द थियो । बजार सञ्चालनमा आएसँगै चहलपहल बढेको छ । स्थानीयले बजार शुरु भएपछि पुरानो रौनक फर्कने आशा गरेका छन् ।
बजार सञ्चालनको पहिलो दिन शनिबार (हिजो) हन्डी फुटाउने, म्युजिकल चेयर, नृत्यलगायत मनोरञ्जनात्मक कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीयबासीको बाक्लो सहभागिता रहेको थियो ।
कटुसे बजार सो क्षेत्रको मुख्य जमघटस्थल थियो । शनिबार बजार लाग्ने दिन व्यवसायी र उपभोक्ताहरुको जमघट राम्रै हुने गरेको थियो । स्थानीय भन्छन् – बजारको दिन भीडले हिँड्न पनि मुस्किल हुन्थ्यो ।

रोजगारी र अवसरको खोजीमा स्थानीय युवा गाउँ छोड्ने र विदेशिने गरेकाले कटुसेको पुरानो रौनक हराउँदै गएको स्थानीय अगुवाहरुको भनाई छ । अझै, बसाई सर्ने क्रम बढ्दै गएपछि गाउँका धेरै घरमा अहिले अभिभावक मात्रै छन् । छोराछोरी फर्कने प्रतीक्षामा रहेका अभिभावकसँगै गाउँको पुरानो चहलपहल पनि हराउँदै गएको स्थानीयको अनुभव छ ।
‘बाल्यकाल यही ठाउँमा बित्यो । शनिबार बजार लाग्ने खबर सुन्नासाथ छुट्टै उत्साह हुन्थ्यो । घरमै पसल भएकाले बजार लाग्ने दिन ग्राहकको भीड पनि उत्तिकै हुन्थ्यो । अहिले लामो समयपछि फेरि बजार सञ्चालनमा आएको देख्दा पुराना दिनहरू आँखाअघि आएजस्तो लाग्यो,’ एक स्थानीयले आफ्नो अनुभव सुनाए ।
कटुसे बजारको पुनः सञ्चालनलाई स्थानीयले व्यापारिक गतिविधि पुनर्जीवित गर्ने अवसरका रूपमा लिएका छन् । तर बजारको पुरानो रौनक फर्काउन बजार सञ्चालन मात्रै पर्याप्त नहुने उनीहरूको बुझाइ छ ।
स्थानीयका अनुसार रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात र अन्य आधारभूत सेवा सुविधाको अभावकै कारण धेरैले आफ्नो जन्मथलो छाड्नुपर्ने अवस्था आएको छ । गाउँमै आवश्यक अवसर र सुविधा विस्तार गर्न सके युवालाई आफ्नै ठाउँमा टिकाउन सकिने अधिकांशको भनाई छ ।

जनप्रतिनिधि तथा राज्यका निकायले निर्वाचनका बेला मात्रै गाउँ सम्झिनेभन्दा पनि नियमित रूपमा यहाँका समस्या, आवश्यकता र सम्भावनाको पहिचान गरी सेवा सुविधा विस्तारमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।








प्रतिक्रिया