Banner news

देश अँध्यारो सुरुङ तर्फ र लिग बाहिर गयो – राजेन्द्र लिङ्देन

देश अँध्यारो सुरुङ तर्फ र लिग बाहिर गयो – राजेन्द्र लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति अँध्यारो सुरुङ तर्फ धकेलिएको र संविधान तथा व्यवस्थामा नै त्रुटि रहेको बताएका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

कांग्रेसको अघिल्लो महाधिवेशनको स्मरण गर्दै अध्यक्ष लिङ्देनले भने, ‘१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपालको उपस्थिति थियो, आज उहाँहरू देखिनुहुन्न। तर, देशको अवस्थामा र नेताहरूलाई हेर्ने जनताको दृष्टिकोणमा कुनै परिवर्तन आएको छैन।’

उनले चुनावपछि ६ महिनाको अभ्यासले मान्छे फेरेर मात्र समस्याको समाधान नहुने स्पष्ट पारेको बताए । ‘समस्या व्यक्तिमा मात्र होइन, हामीले उत्कृष्ट भनेर ल्याएको संविधान र व्यवस्थामा छ,’ उनले भने, ‘संविधान त्रुटिका चाङले भरिएको छ, अब यसलाई सुधार्नुको विकल्प छैन।’

हिजोको निषेधको राजनीति ले मुलुकलाई बर्बादीतर्फ लगेको बताउँदै लिङ्देनले अबको बाटो राष्ट्रिय सहमति भएको जिकिर गरे । ‘हिजो राजाले दललाई र दलले राजालाई निषेध गर्ने काम भयो, यसको परिणाम देशले भोगिरहेको छ,’ उनले भने । हिजो गलत कुरा गर्दा गोलीको सामना गर्नुपर्ने अवस्था थियो भने आज सामाजिक सञ्जालमा आक्रमण हुने गरेको उल्लेख गर्दै उनले सहिष्णुताको खाँचो औँल्याए ।

देशलाई निकास दिनका लागि राजा, राजनीतिक दल र नयाँ पुस्तालाई एकै ठाउँमा राखेर समझदारी कायम गर्नुपर्ने उनको प्रस्ताव छ। ‘देश बिग्रिँदा हामी सबैको बिग्रिन्छ,’ लिङ्देनले चेतावनी दिँदै भने, ‘अहिले देश लिग बाहिर गएको छ। देशलाई बचाउन र समृद्ध बनाउन अब नयाँ शिराबाट राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्छ।’

अध्यक्ष लिङ्देनले कांग्रेसको महाधिवेशनले देशको यो गम्भीर परिस्थिति बुझेर अगाडि बढ्नका लागि मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे ।

शेयर गर्नुहोस :

0
Shares