काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुला ठाउँ आवश्यक रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई ‘खुलामञ्च’ आवश्यक रहेको बताउनुभएको हो।
दस वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै उहाँले खुलामञ्च काठमाडौंको एउटा चौर मात्र नभएको बताउनुभयो। नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको र यहीँबाट धेरै राजनीतिक दल तथा नेताले आफ्नो राजनीतिक यात्रा अघि बढाएको उहाँले स्मरण गर्नुभयो।

‘खुलामञ्च दस वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ उहाँले भन्नुभयो, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’
जननायक बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले समेत खुलामञ्चबाट सम्बोधन गरेको स्मरण गर्दै थापाले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याएर संवाद गर्ने अवसर खुलामञ्चले दिएको बताउनुभयो।
कांग्रेसले आफ्नो महाधिवेशनको स्थल खुलामञ्च बनाएर देशभर यस्ता खुला संवादका ठाउँ आवश्यक रहेको सन्देश दिन खोजेको उहाँको भनाइ थियो।
थापाले सबैभन्दा पहिले संसद्भित्रै ‘खुलामञ्च’ आवश्यक रहेको बताउनुभयो। संसद् खुला र प्रभावकारी नभएसम्म लोकतान्त्रिक अभ्यास पूर्ण हुन नसक्ने उहाँको भनाइ थियो।
‘पहिलो खुलामञ्च कहाँ चाहिएको छ ? पहिलो खुलामञ्च संसद्भित्र चाहिएको छ। संसद् खुला छैन, संसद् बन्द छ,’ उहाँले भन्नुभयो, ‘जुन संसद्ले प्रधानमन्त्री बनाएको छ, त्यही संसद्मा प्रधानमन्त्रीको सम्मानपूर्वक उपस्थिति रहँदैन भने त्यो दिनसम्म संसद् खुला भएको हुँदैन।’
थापाले समुदाय, राज्य र नागरिक तथा विभिन्न जाति, धर्म र पुस्ताबीच पनि संवादका लागि ‘खुलामञ्च’ आवश्यक रहेको बताउनुभयो।
पहाड र मधेसबीच एकअर्काका बारेमा मात्र कुरा गर्ने नभई प्रत्यक्ष संवाद हुनुपर्ने, एक जातिले अर्को जातिसँग र एक धर्मले अर्को धर्मसँग संवाद गर्नुपर्ने उहाँको भनाइ थियो। त्यस्तै, एउटा पुस्ताले अर्को पुस्ताका बारेमा फैसला सुनाउने नभई पुस्ताबीच संवाद आवश्यक रहेको उहाँले बताउनुभयो। ‘राज्य र नागरिकका बीचमा खुलामञ्च चाहिएको छ,’ थापाले भन्नुभयो।








प्रतिक्रिया